सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन निर्देशिका ल्याइँदै

स्वनियमनको खाका तयार गरिने



काठमाडौं । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले त्यससम्बन्धी निर्देशिका बनाउने गृहकार्य शुरू भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई शिष्ट, मर्यादित बनाउँदै सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘समाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र नियमन गर्नेसम्बन्धी निर्देशिका २०८०’ बनाउने गृहकार्य थालेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सचिव कृष्णबहादुर राउतको विशेष पहलमा सो निर्देशिका बनाउने कार्य थालिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्र सुवेदीले जानकारी दिनुभयो ।

मन्त्रालयले प्रवक्ता सुवेदीकै संयोजकत्वमा निर्देशिका मस्यौदा समिति बनाएर काम शुरू गरेको छ । समितिमा सञ्चारसम्बद्ध निकायका विज्ञ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार, गृह र कानुन मन्त्रालयका प्रतिनिधिसमेत समावेश छन् ।

सो समितिले निर्देशिकालाई प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्यले सामाजिक सञ्जाल तथा डिजिटल क्षेत्रसँग सम्बन्धित विज्ञसँग छलफल गरी उनीहरूको राय र सुझाव लिइसकेको छ । यसै गरी मस्यौदा समितिले यस सम्बन्धमा अन्य देशका कानुनी प्रावधान, प्रतिवेदन र विभिन्न नजिरहरूको अध्ययन गरिरहेको मस्यौदा समितिका संयोजक सुवेदीले बताउनुभयो । यस्तै, समितिले साइबर ब्युरोका पदाधिकारीसँग छलफल गरी सुझाव लिइरहेको छ भने हालै प्रेस काउन्सिल नेपालले आयोजना गरेको सम्पादक संवाद कार्यक्रममा उठेका महत्वपूर्ण विषयलाईसमेत सुझावको रूपमा लिइएको जनाएको छ ।

निर्देशिका तयार गरेर लागू गरिएमा सामाजिक सञ्जालको व्यवस्थित प्रयोग हुनुका साथै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भई सामाजिक सद्भावमा समेत वृद्धि हुने विश्वास गरेका छौं ।

समितिले यसै विषयमा केही दिनअघि मात्रै फेसबुक मेटाको सिंगापुर कार्यालयको टिमसँग समेत छलफल गरी आवश्यक सुझाव लिएको थियो । समितिले सूचना प्रविधिसँग सम्बन्धित सरकारका अधिकृतहरू, कानुनसम्बद्ध विज्ञ र अभ्यासकर्ताहरूसँग समेत छलफल गरी सुझाव लिइसकेको छ । निर्देशिकालाई अझै प्रभावकारी र थप वैज्ञानिक बनाउन सरोकारवाला विज्ञहरूसँग राय सुुझाव लिने क्रम जारी रहेको छ ।

सो निर्देशिकाको थप उद्देश्यमा सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित सरोकारवालाको पहिचान गर्ने, सामाजिक सञ्जालको प्रयोग गर्दा गर्न नहुने क्रियाकलापको सूची तयार गर्ने तथा समाजिक सञ्जाल सञ्चालक, प्रयोगकर्ता र व्यवस्थापन एवं नियमनमा संलग्न सरकारी निकायको जिम्मेवारी यकिन गरी स्वनियमनको खाका तयार गर्ने रहेको जनाइएको छ ।

मस्यौदा समितिका संयोजक सुवेदीले सो निर्देशिका तयार गरेर लागू गरिएमा सामाजिक सञ्जालको व्यवस्थित प्रयोग हुनुका साथै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भई सामाजिक सद्भावमा समेत वृद्धि हुने विश्वास गरिएको बताउनुभयो ।

सुवेदीले सो निर्देशिका छिटै मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराउने गरी गृहकार्यलाई द्रुत गतिमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘निर्देशिका तयार गरेर लागू गरिएमा सामाजिक सञ्जालको व्यवस्थित प्रयोग हुनुका साथै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भई सामाजिक सद्भावमा समेत वृद्धि हुने विश्वास गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्