भेरी नदीमा जोखिम मोलेर तुइन चढ्छन् स्थानीय र बालबालिका



सल्यान । 

सरकारले ८ वर्षअघि देशभर तुइन विस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले (२०७२ साल)मै दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्घोष गरे पनि सल्यान र जाजरकोटका स्थानीय बासिन्दा अझै पनि जोखिम मोलेर तुइनकै भरमा भेरी नदी वारपार गर्न बाध्य छन् । सम्बन्धित निकायसँग झोलुङ्गे पुल निर्माणको लागि बारम्बार माग राख्दै आए पनि कसैले चासो नदेखाएपछि स्थानीयले पुलको विकल्प तुइनको प्रयोग गर्न बाध्य भएका हुन ।

उर्लँदै आएको डर लाग्दो भेरी नदी, नदी माथि झोलुङ्गे पुलको लहरा र त्यो पनि एउटा डोरीको सहायताले बनाएको तुइन, हरेक दिन यहाँका स्थानीय र यी कलिला बालबालिका यही तुइनको सहारामा नदी  वारपार गर्न बाध्य छन् । आज भोली बनगाड कुपिण्डे नगरपालिका २ कुनिकका ६० वर्षीय  मान बहादुर बहादुर घर्तीको हरेक दिनको दैनिकी बनेको छ, बालबालिका र स्थानियलाई तुइनमा वारपार गराउने । झोलुङ्गे पुलको लहरामा ग्रिस लगाएर सानो डन्डीमा अडाएको सानो चक्का  कति बेला चुँडिने हो थाहा छैन । तर पनि यात्रा जोखिम छ ।

बच्चाहरुलाई विद्यालय जान दुई तिन घण्टा हिँड्न समय लाग्छ, मान बहादुर घर्तीले भने,“ जंगलबाट जान जङ्गली जनावरको डर छ, त्यही भएर हामीले नदी  वारपार गर्न तुइन बनाएका हौ, जोखिम छ डर लाग्छ, तर पनि हामीलाई बाध्यता छ । सम्बन्धित निकायलाई पुल निर्माणको लागि पटक पटक जानकारी गराएको घर्तीले बताए ।

१० जना विद्यार्थी यही तुइन तरेर ३ घण्टा टाढा बनगाड कुपिण्डे नगरपालिका २ आधारभूत विद्यालय लाहाघाट जाने गरेको कक्षा ७ मा अध्यानरत विद्यार्थी दिपेन्द्र घर्तीले बताए । हरेक दिन बिहान तुइन चढेर जान्छौँ, डर लाग्छ लरी चुँडिन्छ कि भनेर तर पनि बाध्यता रहेको उनले बताए ।

कुनै बेला चिन्नको भरमा भेरी नदी  तर्ने स्थानीय  अहिले आफैले तुइन निर्माण गरी यही  माध्यामबाट वारपार गर्ने गरेको छेडागाड नगरपालिका १३ का स्थानीय राम बहादुर रानाले बताए । दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न, बालबालिकालाई विद्यालय जान असहज भएको र बिरामीलाई उपचारका लागि अस्पताल सम्म लिन कठिनाइ भएपछि तुइन निर्माणका लागि झोलुङ्गे पुलको लहरालाई प्रयोग गरिएको उनले बताए । तुइन निर्माणमा स्थानीयको ५० हजार र वडा अध्यक्षको व्यक्तिगत १५ हजार लगानी लागेको अर्का स्थानीय गोपिलाल शर्माले बताए ।  निर्माण गरेको तुइनको लम्बाई १ सय २५ मिटर रहेको छ । विगतदेखि दलका नेताले विभिन्न आश्वासन दिँदै आए पनि पुल निर्माणमा कसैको ध्यान जान नसकेको उनले बताए ।

अहिले बनगाड कुपिण्डे नगरपालिका–२ कुनिक, बामे, लाहाघाट, राइरा र जाजरकोटको छेडा नगरपालिका–१३ खाराका स्थानीय तुइनकै माध्यमबाट भेरी वारपार गर्दै आएको बनगाड कुपिण्डे नगरपालिका २ का वडा अध्यक्ष मान बहादुर खत्रीले बताए । सरकारले तुइन विस्थापन गर्ने नीति ल्याए पनि पुल निर्माणको लागि बजेट विनियोजन हुन नसक्दा तत्कालको लागि तुइनको व्यवस्था गरिएको उनले बताए । पुलको लागि आफूले प्रदेश र केन्द्र सँग पहल गरिरहेको वडा अध्यक्ष खत्रीले बताए । अहिले सल्यान र जाजरकोटका दैनिक १०/१५ जनाले तुइनको प्रयोग गर्दै आएका छन् । तुइनले बजार तथा विद्यालय जाने बालबालिकालाई केही सहज त भएको छ तर र जोखिम भने उत्तिकै छ ।

सरकारले तुइन हटाएर झोलुङ्गे पुल निर्माणको योजना अघि सारे पनि तुइन विस्थापनको लक्ष्य पूरा हुन भने सकेको छैन । पुल निर्माणको लागि यहाँका स्थानीयले पटक पटक माग राखेपनि सुनुवाई कसैले गरिदिएका छैनन् । भोट माग्न आउदा उम्मेदवारले पुल बनाईदिन्छौ भनेर आश्वासन दिएर त गए फेरि फर्केर गएनन् । नागरिकका सवालमा सरकार गम्भीर बन्न नसक्दा सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्