विद्युत् वितरणलाई सहज बनाउन नयाँ ट्रान्सफर्मर जडान



लमजुङ । लमजुङमा पर्याप्त विद्युत भएपनि अत्याधिक ट्रिपिङको समस्या हुने भएकोले नेपाल विद्युत् प्रधिकरण लमजुङ वितरण केन्द्रले विद्युत सहज बनाउन नयाँ ट्रान्सफर्म जडान गरेको केन्द्रले जनाएको छ ।

कार्यालयले हालसम्म नयाँ र पुराना गरी ४७ वटा ट्रान्सफर्मर जडान गरीसकेको जनाएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका केहि पुराना ट्रान्सफर्मर परिवर्तन गरी नयाँ ट्रान्सफर राखिएको र र कतिपय स्थानमा विद्युत वितरण सहज बनाउन नयाँ ट्रान्सफर्मर समेत राखिएर विद्युत वितरण सहज बनाईएको कार्यालय प्रमुख मेघनाथ भट्टराईले बताउनु भयो ।

यसअघि भएका पुरान ट्रान्सफर्मरहरुबाट अत्याधिक लामो विद्युत वितरण हुँदा अत्याधिक समस्या हुने र समस्या भएका बेला कुन स्थानमा समस्या भएको हो सोको पहिचान गर्न समय लाग्ने भएको थियो । हाल नयाँ ट्रान्सफर्मर राखिएपछि कुनै एक ठाँउमा समस्या भएमा पनि त्यसको प्रभाव जिल्ला भरी नहुने प्राधिकरणले जनाएको छ ।

कमजोर संरचनाका कारण बर्षाको सिजनमा विद्युत जानेआउने हुँदा प्रत्येक वर्ष उपभोक्ताहरु समस्यामा पर्दै आएका छन् । जिल्लामा विद्युत उत्पादन बढि र सो अनुसारको संरचना नहुँदा विद्युत ट्रिपिङको समस्या भोग्नुपरेको कार्यालयको दावि छ ।

गत वर्षहरुमा जिल्लामा भएको विद्युतीय समस्यामा तत्कालिन उपभोक्ता समितिको लापरवाहि भएको भन्दै चर्को विरोध भएको थियो । विद्युत उपभोक्ता सँस्थाले सेवा प्रवाह गर्न नसकेको भन्दै खारेजीको लागि दवाव बढेपछि गत वर्षदेखि विद्युत वितरणको जिम्मा प्राधिकरणले लिएको हो । हाल प्राधिकरणले सेवा प्रवाहको जिम्मा लिएपछि संरचना सुधारलाई पहिलो प्राथमिकतामा राखेको र सोहि अनुसार काम भईरहेकोले आगामी वर्षबाट यस्तो समस्या नहुने कार्यालयले जनाएको छ ।

त्यसै गरी जिल्लामा विद्युत वितरण हुँदै आएका नौसय काठका पोल विस्थापन भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जिर्ण अवस्थामा रहेका नौसय बढि पोल विस्थापित गरी फलामको पोल राखिएको छ ।

गत वर्ष मात्रै उपभोक्ता समितिबाट विद्युत वितरण जिम्मा लिएको प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा रहेका जिर्ण काठका पोल परिवर्तन गरी फलामको पोल राखेको जनाएको छ । प्राधिकरणले काठको विद्युत पोल जिर्ण हुँदा जोखिमसँगै विद्युत वितरणमा समेत समस्या भएपछि सवै जिर्ण पोललाई हटाएर फलामको विद्युत पोल राख्न शुरु गरेको वितरण केन्द्रका प्रमुख भट्टराईले बताउनुभयो ।

जिल्लामा विद्युत वितरणका लागि प्रयोगमा रहेका प्राय सवै काठका पोलहरु जिर्ण रहेको र सवै काठका पोल हटाउने क्रम शुरु भएको कार्यालय प्रमुख भट्टराईको भनाई छ । जिल्लामा अझै दुईहजारको हाराहारीमा जिर्ण काठको पोल रहेको र सवै विस्थापनको क्रममा रहेको कार्यालयले जनाएको छ ।

लमजुङमा मात्रै हाल साना ठुला आयोजनाबाट दुईसय ४० मेगावाट भन्दा बढि विद्युत उत्पादन भईरहेको छ । उत्पादित विद्युतलाई उदिपुरस्थित सवस्टेशनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । सो बाहेक जिल्लाका लागि भने ११ केभिको प्रशारण लाईन मार्फत वितरण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्