बार्सिलोनाको कठिन जित



लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा बार्सिलोनाले कठिन जितको नतिजा आत्मसात गरेको छ ।

ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध कठिन जित निकालेको हो । घरेलु मैदान क्याम्प नोउको मर्मत भइरहेकाले बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियमलाई घरेलु मैदान बनाएको बार्सिलोनाले २–० को जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान एक–एक गोल गरेका थिए ।

पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाको खेलको दुवै गोल गर्न अन्तिम समयसम्म कुर्नुपर्यो । काडिजका गोलरक्षक लेडेस्माले खेलमा राम्रो प्रदर्शन गर्दै धेरै सटहरु विफल पारे । खेलको ११औं मिनेटमा जुल्स कुण्डेको हेडर उनले सजिलै बचाए । १५औं मुनेम पेड्रीको हेडर पनि लेडेस्माले सेभ गरे । २९औं मिनेटमा १६ वर्षीय लामिन यमालको सटमा उनले उत्कृष्ट बचाउ गरे ।

खेलको ३४औं मिनेटमा कुण्डेको अर्को प्रहार लेडेस्माले विफल पारे । उता बार्सिलोनाका गोलरक्षक टर स्टेगनले ३५औं मिनेटमा उत्कृष्ट बचाउ गर्दै टिमलाई पछि पर्न बाट बचाएका थिए।अलेहान्द्रो बाल्डेले बल फुत्काएपछि वान भर्सेस वानको अवसर सिर्जना भएको थियो । तर जर्मन गोलकिपर टर स्टेगन बाधक बने ।

खेलको ४५औं मिनेटमा गाभिको प्रहार बारमा लागेपछि काडिज पछाडि पर्न बाट बच्यो । ७२औं मिनेटमा लेवान्डोस्कीले प्रहार गरेको हेडर पोस्टको थोरै टाढा बाट बाहिरियो । खेलको ८०औं मिनेटमा आब्देको सट लेडेस्माले विफल पारे । तर, त्यसको दुई मिनेट पश्चात बार्सिलोनाले खेलमा अग्रता लियो । गुन्डोगानको सटीक पास पेद्रीले भेट्टाएर बललाई गोलको दिशा देखाएका थिए ।

त्यसपछि खेलको अन्तिममा अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले एक गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे । यो सँगै बार्सिलोनाको दुई खेलमा चार अंक पुगेको छ । पहिलो खेलमा डेपोर्तिभो अलाभेसलाई १–० ले हराएको काडिजको भने दुई खेलमा तीन अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्