म्याग्दीमा नागरिकताभन्दा राहदानी लिने धेरै



म्याग्दी।

हिमाली जिल्ला म्याग्दीमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरु भन्दा विदेश जाने अनुमतिपत्र अर्थात् राहदानी लिने धेरै भएका छन् । गएको आर्थिक वर्ष २०७९/०८० मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

गएको वर्ष राहदानीको लागि साधारणतर्फ सात हजार चार सय ४७ वटा सिफारिस गरिएकोमा द्रुत सेवातर्फ १० वटा मात्रै सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए । गतभन्दा अघिल्लो आर्थिक वर्षमा साधारणतर्फ चार हजार तीन सय ९४ वटा राहदानी सिफारिस गरिएकोमा आठ सय ४४ वटा द्रुत सेवाको लागि सिफारिस गरिएको थियो ।

यसैगरी गतवर्ष छ हजार आठ सय छ वटा राहदानी वितरण गरिएकोमा अघिल्लो आर्थिक वर्षमा तीन हजार एक सय ३५ वटा राहदानी वितरण गरिएको थियो । गतवर्ष ६ सय ३० वटा राहदानी वितरण हुन बाँकी रहेको छ भने अघिल्लो आवमा एक हजार दुई सय ५७ वटा राहदानी वितरण हुन बाँकी रहेका थिए । गतवर्ष १४ हजार एक सय ८७ वटा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ भने गतभन्दा अघिल्लो आवमा आठ हजार ५५ वटा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनुभएका सहायक प्रजिअ पन्तले बताए ।

त्यस्तै नागरिकतातर्फ गतवर्ष वंशजको आधारमा छ हजार दुई सय २४ वटा नयाँ नागरिकता वितरण गरिएको छ भने तीन हजार चार सय २६ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । गतभन्दा अघिल्लो आवमा पाँच हजार सात सय चार वटा नयाँ नागरिकता वितरण गरिएकोमा पाँच हजार आठ सय ९९ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको थियो । गतवर्ष तीन वटा वैवाहिक अङ्गिकृतसम्बन्धी नागरिकता वितरण गरिएकोमा अघिल्लो आर्थिक वर्षमा एकवटा मात्रै वितरण गरिएको थियो ।

म्याग्दीमा राहदानी लिनेहरुको सङ्ख्या धेरै हुनुमा वैदेशिक रोजगार तथा अध्ययन, भिजिट भिसा र राहदानी हराउनु तथा व्यहोरा परिवर्तन गरेर बनाउने जस्ता कारण रहेको सहायक प्रजिअ पन्तको भनाइ छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राहदानी लिन जानेहरु अधिकांश कलेज उमेर समूहका छन् । कक्षा १२ उत्तीर्ण गरेलगत्तै जापान तथा अस्टेलियामा अध्ययन गर्न जाने भन्दै राहदानीको फाराम भर्ने गरेको पाइन्छ । राहदानी लिनेहरु अधिकांश २० वर्ष उमेरदेखि ३५ वर्षसम्मका रहेका छन् ।

अर्कोतर्फ १६ वर्षको उमेर पूरा भएपछि नागरिकता बनाउन पाइने भएकाले पनि नागरिकता लिएका करिब ८० प्रतिशतले राहदानीको फाराम भर्ने गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउछन् । म्याग्दी जिल्लामा काखको बच्चादेखि ८० वर्ष उमेर समूहका बुढाबुढीले समेत राहदानी बनाउने गरेको उनले बताए ।

राहदानी लिनेहरुमध्ये धेरै वैदेशिक रोजगारीमा जानेहरु रहेका छन् । यसका साथै विदेशमा अध्ययन, भ्रमण, विदा मनाउन, परिवार भेटघाट, दलाललाई राहदानी दिएर फिर्ता नपाउनु जस्ता कारणहरु पनि रहेको भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्