बाबुरामले दिए ललिता निवास प्रकरणबारे सीआईबीलाई बयान, भने- ‘कर्तव्य निर्वाह गरेको छु’



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बयान दिएका बताएका छन् ।

उनले आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत उक्त प्रकरणबारे बयान दिएको बताएका हुन् ।

भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णयबारे उठेका प्रश्नहरूमा सीआईबीलाई बयान दिएको जानकारी गराएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।’

‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु,’ उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र माधवकुमार नेपालसँग बयान नलिएको भन्दै कांग्रेस–माओवादी नेतृत्वको सत्ता गठबन्धनको चर्को आलोचना हुँदै आएको छ ।

आलोचना भइरहेका बेला भट्टराईले आफूले बयान दिएको कुरा सामाजिक सञ्जालमार्फ सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्