संसद् सुचारू गर्न सभामुखको निरन्तर सक्रियता, सत्ता र प्रतिपक्षी दलका सचेतसँग छलफल गर्दै



काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् । उनले आज (आइतबार) बिहान ११ बजे सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले झन्डै एक महिनायता संसद्को गतिरोध कायमै राखेको छ । यसको अन्त्यका लागि सभामुखले प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।

एमालेले यसअघि ६ पटकसम्म संसद् चल्न दिएको छैन ।

सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा विपक्षी दलबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नेछन् ।

असार २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व भन्सार विभागबाट जाँचपास भएर बाहिरिएको सुन प्रहरीले बरामद गरेको थियो । यहीँ विषयलाई निहुँ बनाएर एमाले लगायतका प्रतिपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् ।

उनीहरूले सुन तस्कर प्रकरणमा संलग्नको कारबाहीका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । सभामुख घिमिरेले हिजो (शनिबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्