रुसद्वारा युक्रेनको चेर्निहिभमाथि आक्रमण, ५ जनाको मृत्यु दर्जनौँ घाइते

0
Shares

किएभ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी शहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।

कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो ।

फेब्रुअरी २०२२ मा बेलारूस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले शहरभरि मार्च गरेको थियो ।

पुटिनले दक्षिणी रूसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रूसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो ।

यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीडेनको भ्रमणका लागि त्यसतर्फ लागिसकेका थिए ।

चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा भनेका छन् , “पाँच जनाको मृत्यु भएको छ । कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन् ।”

जेलेन्स्कीका अनुसार यो आक्रमण ‘शहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ ‘पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला’ छ ।

‘एउटा सामान्य शनिबारलाई रूसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,” युक्रेनी नेताले स्वीडेन पुगेपछि भने ।

उनले घटनास्थलबाट एउटा भिडियो पोस्ट गरेका थिए । यसमा सोभियत कालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ, त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ ।

एएफपीका सञ्चारकर्मीहरूले तारास शेभचेन्को नाट्यशाला सङ्गीत एकेडेमी बाहिर दमकल देखेको बताएका छन् । आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ ।