शाश्वत धाममा हनुमंत कथा प्रवचन सुरु 

0
Shares

नवलपरासी । 

पूर्वी नवलपरासीकाे दुम्काैली स्थित शाश्वत धाममा शनिबार देखि हनुमंत कथा वाचन सुरु  भएको छ । भारत मध्य प्रदेश बागेश्वर धामका पिठाधिस पण्डित आचार्य  धिरेन्द्रकृष्ण शास्त्री  बागेश्वर बाबाले हनमंत कथा वाचन सुरु गरेका हुन् ।

शाश्वत धाममा बागेश्वर बाबाबाट वाचन हुने कथा श्रवणका लागि नेपाल तथा भारतका विभिन्न राज्यबाट आएका श्रद्धालुहरू बिहानैदेखि पर्खेर बसेका थिए ।
बागेश्वर बाबा अबेर ५ बजे शाश्वत धाम परिसरमा आए पश्चात् कथा वाचन सुरु भएको हो ।

नेपालमा आई कथा वाचन गर्न पाउँदा आफू ज्यादै प्रफुल्लित  भएको बताउँदै बाबाले हनुमंत कथा भन्दा राजर्षि जनक र  माता जानकी, पशुपति र मुक्तिनाथकाे महिमा गानमै अधिकांश समय खर्चिए ।

स्थानीय चौधरी ग्रुप अन्तरगत सिजी कर्पका प्रवन्ध निर्देशक वरुण चौधरिको निमन्त्रणामा नेपाल आएका बागेश्वर बाबाले शाश्वत धाममा रहेको एकाम्वेश्वर महादेवको दर्शन गरेका थिए ।

कथा वाचन कार्यक्रममा सांसद विनोद चौधरी परिवारसहित   उपस्थित थिए ।कथा श्रवण गर्न आएका सन्त महन्त तथा श्रद्धालुहरूले बाबासँगै भजन कीर्तन गरी  नाचगानमा रमेका देखिन्थे ।

बाबामा चमत्कारिक एवं अलाैैकिक शक्ति रहेको र राेग निकाे पार्न भगवान् बालाजीको आशीर्वाद प्राप्त हुने विश्वासमा कतिपय बिरामी र उनका परिवार कार्यक्रम स्थलमा आइपुगेको एक श्रद्धालुले बताए ।

शाश्वत धाममा सनातन धर्ममा आधारित वेद बिद्याश्रम, गौशाला, सरोबर,  गणेश , दुर्गा, बुद्ध, हनुमान  लगायत महाभारत कालिन देवमूर्ति, धार्मिक संग्रहालय तथा खजुराह शैलीको शिव मन्दिर रहेको छ ।