रोनाल्डोको कारण साउदी लिगको चर्चा

0
Shares

काठमाडौं । यही वर्षको जनवरीमा क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको क्लब अल नासरसँग सम्झौता गरे । यो निर्णयमा रोनाल्डोको चारैतिरबाट आलोचना भयो । तर, कसैको पर्वाह नगरी पोर्चुगिज सुपरस्टारले साउदीमा रमाई रमाई खेले र भने—म यहाँ खुशी छु ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाडेपछि धेरैले युरोपकै कुनै क्लबबाट खेल्नेछन् या अमेरिकाको मेजर सकर लिगमा पुग्नेछन् भन्ने अड्कल लगाएका थिए । तर, उनले साउदी क्लब रोजेपछि भने सबै अक्क बक्क भए । कतिले रोनाल्डोको उँचाइ घटे भने कतिले ३८ वर्षको उमेरमा कसले उनलाई लगानी गर्ला भने । तर, अल नासरले रोनाल्डोलाई २ सय मिलियन युरो तिरेर साउदी लिगमा उनलाई स्वागत ग¥यो । उनले हालै अरब कप अल नासरलाई दिलाए । जुन उपाधि अल नासरले कहिल्यै जित्न सकेको थिएन । रोनाल्डोले फाइनलमा दुई गोल गरेर अल नासरको लगानी व्यर्थ नभएको सावित गरिदिए ।

अहिले दृश्य फरक भइसकेको छ । रोनाल्डो साउदीमा आबद्ध भएको ८ महिना पुग्दा खाडी मुलुकमा शीर्ष खेलाडीको लाम लागिसकेका छन् । रोनाल्डोको कारण साडियो माने, करिम बेन्जमा, नेभेस, रोबेर्टो फिर्मिनो, जोर्डान हेन्डरसन, नगोलो काटे, रियाद महरेजले साउदीमा पुगिसकेका छन् । अहिले ब्राजिली सुपरस्टार नेयमार पनि साउदीको अल हिलाल क्लबसँग आबद्ध हुने तयारी भइसकेको छ । यसमा अर्का एक सुपरस्टार लियोनल मेसी छुटे । उनलाई पनि साउदीको एक क्लबले प्रस्ताव राखेको थियो । तर, मेसीले अमेरिकालाई आफ्नो गन्तव्य बनाए ।

साउदीमा थुप्रो खेलाडी पुगिरहँदा म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डिओलाले पहिले नै चिन्ता व्यक्त गरेका थिए । उनले युरोपेली लिगले समयमै सतर्कता अपनाएन भने भविष्यमा साउदी लिगमा थुप्रै खेलाडी जान सक्ने प्रतिक्रिया दिएका थिए । उनले साउदी लिगको असर युरोपेली लिगमा पर्ने सक्ने बताएका थिए ।

एक हिसाबले भन्ने हो भने अरब देश साउदी विश्वका शीर्ष खेलाडीलाई लोभ्याउन सफल भइरहेको छ । यो साउदीको लागि खुशीको कुरा हुन सक्छ । तर, युरोपेली लिगको लागि चिन्ताको विषय बनेको छ । रियल मेड्रिडलाई कयौं उपाधि दिलाएका बेन्जामा साउदी लिगमा जानु रोनाल्डोकै देन हो । यदि युरोपेली क्लबले खेलाडीको प्रतिभा चिन्न नसकेमा वा बेवास्ता गरेमा साउदी गन्तव्य हुन सक्ने वातावरण अहिले सिर्जना भएको छ । यसको उदाहरण बायर्न म्युनिखबाट तिरस्कार पाएका मानेले साउदीमा अवतरण गर्नु हो । बायर्नमा उनले धेरै खेल्न पनि पाएनन् ।

मोटो रकममा आकर्षित

साउदीले दिने मोटो रकम खेलाडीका लागि कुनै पनि युरोपेली क्लबबाट अपेक्षा पनि गर्न सकिँदैन । किनभने युरोपेली क्लबले चर्चित युवा खेलाडीका लागि मात्रै हेर्ने भएको हुँदा अनुभवी खेलाडीका लागि यति रकम लगानी गर्दैन । तर, साउदीले उनीहरुलाई विश्वास गरेर लगानी गरेको छ । यस विषयमा रोनाल्डोले बताए —कोही पनि चर्चित खेलाडी वा पाका खेलाडी आउन चाहन्छन् भने साउदीमा स्वागत छ । उमेरले केही छेकिँदैन । म पहिले इटालि सिरि ए धरासयी भइरहेको अवस्थामा गएको थिएँ । त्यतिबेला पनि मेरो आलोचना भएको थियो । भन्नेहरु जे भने पनि म साउदीमा गएपछि त्यहाँ फुटबलको चार्म ह्वातै बढेको छ ।

साउदी टोली अल हिलाल क्लबले त क्लियन एम्बाप्पेलाई एक वर्षको लागि २ सय मिलियन युरोको विश्व रेकर्ड रकमको प्रस्ताव राखेको थियो । तर, आश्चर्य यो छ कि एम्बाप्पेले यो प्रस्तावलाई स्विकार भने गरेनन् । उनले स्विकार नगरेपछि अल हिलालले पेरिस सेन्ट जर्मेनका अर्का फरवार्ड नेयमारलाई किनेको छ । जसरी भएपनि मोटो रकम दिएर साउदी क्लबहरुले विश्वस्तरीय खेलाडी जम्मा गर्दैछ ।

यसमा सबैभन्दा स्तब्ध विषय भनेको नेभेस साउदीमा आबद्ध हुनु हो । उनी जस्ता युवा खेलाडीका लागि बार्सिलोना र म्याचेस्टर युनाइटेडले ताकेता गरिरहँदा पनि उनले साउदी लिग छाने । उनका धेरै समर्थक छन् र उनले युरोपको चम्किला ट्रफी जित्न सक्छन् । यसरी छान्नुको कारण पैसा नै भएको जनाएको छ । उनी वोल्भस् हुँदा उनको कमाइ प्रतिवर्ष ४ मिलियन पाउन्ड हुन्छ । अहिले अल हिलालमा उनले १२ मिलियन पाउन्ड प्रति वर्ष पाउन भएका छन् । यो उनका लागि वोल्भस्मा भन्दा तेब्बर रकम हो ।

नेयमारले १ सय ५० मिलियन पाउने

यस्तै नेयमारले पनि साउदी अरेबियामा वर्षमा १ सय ५० मिलियन युरो आर्जन गर्नेछन् । यो पेरिसमा पाउने रकमको ६ गुणा बढी हुन आउँछ । उनी पेरिसमा बसिरहेको भए उनको वार्षिक २५ मिलियन युरो मात्रै कमाउ हुनेथियो । ३१ वर्षीय ब्राजिली फरवार्ड पेरिसमा २ सय २२ मिलियन युरोमा सन् २०१७ मा बार्सिलोनाबाट स्थानान्तर भएका थिए । यसले पैसाकै कारण खेलाडीले एशियाको लिगमा खेल्न तयार भइरहेका छन् ।

नेपालका राष्ट्रिय टिमका पूर्व कप्तान तथा गोलकीपर उपेन्द्रमान सिंहले पनि खेलाडी साउदीमा जानु पैसा नै भएको बताए । मध्यपुर युथ संघका अध्यक्ष समेत रहेका सिंहले बताए—आजकल पैसाकै लागि खेलाडी साउदी लिगमा खेल्न गइरहेका छन् । साउदीसँग पैसा छ उनीहरुले विश्वकप तयारीका लागि आफ्ना खेलाडीलाई राम्रो गर्नका लागि खर्च गरेका पनि हुन सक्छ । उनीहरुलाई थाहा छ कि चर्चित खेलाडी नल्याइ साउदीको स्तर बढ्ने छैन । तर, यसले साउदीको लिगलाई पनि चम्काएको छ । एकतर्फबाट हेर्ने हो भने साउदीलाई फाइदा नै हो ।

उनले थपे—रोनाल्डो, बेन्जामा जस्ता पाका खेलाडीलाई उमेरले गर्दा युरोपका चर्चित क्लबमा खेल्न गाह«ो नै हुन्छ । नयाँ नयाँ प्रतिभावान खेलाडीको आगमनले पनि उनीहरु जस्ता खेलाडीको भविष्य युरोपेली लिगमा सुरक्षित हुँदैन पनि । यसैले पनि साउदी लिगमा यी खेलाडीको घुँइचो लाग्ने गरेको हो । अमेरिकाको एमएसएल र चाइनिज लिग भन्दा साउदीमा पैसा धेरै आउँछ भने खेलाडीले साउदी लिग खेल्नु कुनै आश्चर्यको कुरा पनि होइन ।