मन्त्रालयमै समयमा आउँदैनन् कर्मचारी



सुर्खेत। 

प्रदेशका मन्त्रालयहरुमा नै कर्मचारीहरु कार्यालय समयमा नआउने गरेको पाइएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरु कार्यालय समयमा नआउने गरेको पाइएको हो । मंगलबार कर्णाली प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला समितिले मन्त्रालयमा गरेको छड्के अनुगमनमा मन्त्रालयका अधिकांश कर्मचारीहरु समयमै कार्यालय नपुग्ने गरेको भेटिएको हो ।

      प्रदेश मामिला समितिकी सभापति प्रदेशसभा सदस्य कल्याणी खड्काको नेतृत्वमा भएको छड्के अनुगमनमा कानुन मन्त्रालयमा कार्यरत २६ जना कर्मचारीमा दर्जन बढी कर्मचारीहरु कार्यालय समयभन्दा ढिला आईपुगेका थिए । संसदीय समिति सभापति खड्काले मन्त्रालयमा कार्यरत कर्मचारीहरु समयमै कार्यालय आउने र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताइन् । उनले भनिन्, कर्मचारीको संख्या थोरै हुनु । त्यसमा पनि समयको ख्याल नगर्नाले सेवा प्रवाहमा समस्या हुन्छ । खड्काले मन्त्रालयका सचिव ध्रुव घिमिरेलाई नीति निर्माणमा महत्त्वपूर्ण मानिएको मन्त्रालयमा कर्मचारीको लापरबाहीले सेवाग्राहीमा नराम्रो सन्देश जाने भन्दै मन्त्रालयको प्रशासन कडा बनाउन निर्देशन दिएकी थिइन् ।

      प्रदेश मामिला समितिका सदस्य रनसिंह परियारले राज्यको स्थायी सरकार मानिने कर्मचारी संयत्र व्यवस्थित र जिम्मेवार भएर कार्य सम्पादन गर्नु पर्ने बताए । उनले राज्यलाई आवश्यक पर्ने नीति कार्यान्वयनमा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सेवा प्रवाहका क्रममा आइपर्ने व्यवधान समधानमा समिति र संसद् कर्मचारीको साथमा रहेको बताए ।

यस्तै समितिका अर्का सदस्य महेन्द्र केशीले राज्यमा राजनीतिक र प्रशासनिक संयत्रहरु नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताए । अनुगमनमा समितका पदाधिकारी र सचिव तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कानुन मन्त्रालयमा कर्मचारीको कुल दरबन्दी ३८ रहेकोमा हाल २६ जना कर्मचारी कार्यरत छन् ।प्रदेशसभा नियमावलीको नियम १५४ बमोजिम प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश लोक सेवा आयोग र सरकारका कामकाजको अनुगमन गर्ने अधिकारलाई प्रदेश मामिला समितिलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्