८ सय २० सम्पदाको पुनर्निर्माण सम्पन्न



–२ सय १५ गुुम्बा पुनर्निर्माण हुँदै
–आव २०८२÷०८३ सम्ममा सबै सम्पदा पुनर्निर्माण भइसक्ने
–सय वर्ष पुराना २६ सहित केही गुम्बाको पुनर्निर्माण शुरू
–बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा ढिलाइ

काठमाडौं । भूकम्प गएको ८ वर्षपछि देशभरका ८ सय २० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये चालु आर्थिक वर्षमा करिब ५० सम्पदाको पुनर्निर्माण सम्पन्न हुने भएको छ ।

पुरातत्व विभागले आर्थिक वर्ष २०८२/०८३ सम्ममा सबै सम्पदा पुनर्निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । विभागका प्रवक्ता एवं वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुँवरले बजेट अभावको कारण भाका सर्दै गएको जिकिर गर्दै भन्नुभयो– ‘लगभग धेरै सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन्, बाँकी तीन वर्षभित्रमा सक्नेछांै ।’ उहाँका अनुसार विभागले चालु आवमा मन्दिर र सय वर्ष पुराना २६ सहित २ सय १५ गुम्बा पुनर्निर्माण गर्ने जनाएको छ ।

त्यसै गरी विभागले गत आवबाट शुरू भएका २६ गुम्बा पुनर्निर्माणलाई निरन्तरता दिएको छ भने भक्तपुरको यज्ञवल्लभ, पुजारी मठ, पाटनको देगु तलेजु, शंखमूलको जगत नारायण, काठमाडौंको जगन्नाथ र शुभद्रालगायतका मन्दिर पुनर्निर्माण जारी रहेको छ ।

विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले बजेट अभावको कारण तोकिएको समयमा सबै सम्पदा पुनर्निर्माण सम्पन्न गर्न मुस्किल परेको बताउनुभयो । उहाँले बजेट अभाव नभए अबको एक वर्षभित्र सबै सम्पदा पुनर्निर्माण भइसक्ने दाबी गर्दै भन्नुभयो– ‘कम बजेट विनियोजन भए पनि पुनर्निर्माणको कामलाई निरन्तरता दिनेछौं ।’

चालु आबमा नियमिततर्फको ४० करोड र भूकम्पबाट ध्वस्त र क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्न ७० करोड गरी १ अर्ब १० करोड रुपियाँ विनियोजन भएको विभागले जनाएको छ ।

माग गरेभन्दा अत्यन्तै कम बजेट विनियोजन भएकोले सम्पदा पुनर्निर्माण गर्न कठिन हुने प्रवक्ता कुँवरको भनाइ छ ।

उहाँका अनुसार अधिकांश गुम्बा बहुवर्षीय योजनाअन्तर्गत छन् । विभागले पहिलो चरणमा सोलुखुम्बु, दोलखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, गोरखा र नुवाकोट गरी सात जिल्लाको गुम्बा पुनर्निर्माण शुरू गरेको छ । पुनर्निर्माण प्राधिकरणले हस्तान्तरण गरेका सम्पदामध्ये गुम्बा पुनर्निर्माण शुरू भएको विभागको भनाइ छ । सबै काम सम्पन्न गरेर सबै सम्पत्ति सरकारलाई हस्तान्तरण गरेपछि खारेज भएको प्राधिकरणको गुम्बा पुनर्निर्माण गर्ने जिम्मा विभागले लिएको हो ।

तथ्याङ्कअनुसार सोलुखुम्बुको देक्षेन छो खोर्लिङ, दोलखाको रोल्वालिङ दातज्यम टासी छयोलिङ र रोल्वालिङ साङा छयोलिङ गरी दुई, धादिङको जिलिङचो, पङगङ, टासी छयेजोङ, फ्यान्चेत गरी चार, रसुवाको माङचेन, ज्योमो लाहाङ, नागाथालिङ र साम्बालिङ गरी चारवटा गुम्बा यसै आवमा पुनर्निर्माण हुनेछन् ।

सिन्धुपाल्चोकको साङाक उर्गेनधोङाग छोलिङ, ध्याङडाँडा ध्याङ, नतलेछेताङ घ्याङ, टासी वाङदाङग, साङालिङ बौद्ध, ङिङमा, ज्याङतेर सेरपाली पाङ, केबलुङ र घुमसाङ गरी ९ वटा गुम्बा पुनर्निर्माण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्