सय किलो भनिएको सुनको तौल ६० किलो ७ सय ७९ ग्राम मात्रै



काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल ६० किलो ७ सय ७९ ग्राममात्रै रहेको राष्ट्र बैंकले जनाएको छ ।

बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा राखेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

बरामद गरेको २७ दिनपछि राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक सुको सुन जोखेको हो । राजस्व अनुसन्धान विभागले ब्रेक सुसहित बरामद गरेको सुनको तौल १ सय केजी रहेको दाबी गर्दै आए पनि टक्सार विभागले भने ६० केजीमात्रै भएको बताएपछि यसमा समेत आशंका व्यक्त गर्न थालिएको छ । लामो समयसम्म सुनको तौल नगरेर राख्नुमा कैफियत भएको भन्दै जनआक्रोश बढ्न थालेको छ ।

उक्त सुन तस्करी प्रकरणको अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले सुन तस्करीमा कस्को संलग्नता रहेको छ भन्ने जानकारी पाउन नसकेपछि बाध्य भएर अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिने निर्णय गरेको थियो । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन काण्डको छानबिन गरिरहेको छ ।

सो प्रकरणमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकसहित २० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सरकारी मिलेमतोमा सुन तस्करी भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले उक्त सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्