पूर्व मुख्यसचिव पौडेलसँग लिइयो बयान



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले आइतबार करिब ४ घण्टा लगाएर पौडेलसँग बयान लिएको हो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा वि.सं. २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर भू–माफियालाई दिने निर्णय प्रक्रियामा मुछिएकाले पौडेलसँग सीआईबीले बयान लिएको हो ।

यसअघि सीआईबीले वि.सं. २०७६ मंसिर १५ मा चीनका लागि नेपाली राजदूत छँदै उहाँसँग जग्गा हिनामिना र उहाँको संलग्नताबारे इमेलमार्फत् जवाफ मागेको थियो । त्यसको १२ दिनपछि पौडेलले मंसिर २७ मा इमेलमार्फत् नै जवाफ दिँदै जग्गा हिनामिनामा आफू संलग्न नभएको दाबी गर्नुभएको थियो । उहाँले मुख्यसचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीले उठाएको टिप्पणी मन्त्रिपरिषद्मा पेस गर्नका लागि मात्रै आफूले सहजीकरण गरेको र मन्त्रिपरिषद्बाट भएको निर्णयपछि कार्यान्वयनका लागि काम गरेको दाबी गर्नुभएको सीआईबी उच्चस्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्