‘पहिचान मुद्दा राष्ट्र निर्माण प्रक्रिया हो’



विराटननगर।

नेपालको विविध जातीय पहिचानको मुद्दा सबल र सक्षम राष्ट्र निर्माणको एउटा प्रक्रिया भएकाले यसलाई जातीय नजरले हेर्न नहुने विज्ञहरुले सुझाएका छन्।पहिचानलाई सम्बोधन गर्दा मुलुक झन बलियो बन्ने उनीहरुको सुझाव छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा आयोजित पहिचान आन्दोलन र अबको बाटो विषयक संवाद कार्यक्रममा वक्ताहरुले सो कुरा सुझाएका हुन्।पहिचानको मुद्दालाई जातीयताको नजरले हेर्दा मुलुकको समस्या कहिल्यै समाधान नहुने उनीहरुको भनाई रहेको छ ।

राजनीतिक विश्लेषक डा. महेन्द्र लावतीले नेपालका शासक तथा राजनीतिक दलका नेतृत्वकर्ताले मुलुकमा पहिचानको मुद्दालाई गलत व्याख्या गरी उल्टो भाष्य निर्माण गर्ने प्रयत्न गरिरहेको बताए। पहिचानको मुद्दा धनी र गरिब सबै वर्ग समुदायलाई समेट्ने हुनाले यो साझा मुद्दा भएको लावतीको भनाइ छ । मुलुक समृद्ध बन्दैमा पनि पहिचानको मुद्दा नहराउने उनको धारणा रहेको छ ।

बेलायत, क्यानडा, स्पेन लगायतको मुलुक समृद्ध र सम्पन्न भए पनि पहिचानका लागि आन्दोलन गरेर पहिचान स्थापित गरेको उनले उदाहरण दिए। पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा मुलुक रुवान्डा हुने गलत व्याख्या पनि नेपालमा हुने गरेको प्रा.लावतीको बुझाइ छ । रुवान्डामा अहिलेसम्म एकात्मक शासन प्रणाली रहेको र संघीयतामा कहिल्यै नगएको उनले प्रष्ट पारे। पहिचान कायम गर्दा मुलुक समस्यामा नपरी झन बलियो बन्ने प्रो. लावतीको जोड रहको छ ।

राजनीतिक विश्लेषक डम्बर खतिवडाले नेपालमा पहिचान कायम गरी राष्ट्र निर्माणको प्रक्रिया शुरु भएकाले यसको सम्बोधन गरेर जानुको विकल्प नरहेको बताए।पहिचान र जातीयता विल्कुल फरक विषय भएको चर्चा गर्दै विश्लेषक खतिवडाले नेपाल विविध समुदाय, समुदाय र सभ्यताको देश भएकाले पहिचानलाई उपेक्षा गर्न नसकिने बताए ।

पहिचानको मुद्दामा प्रमुख तीन ठूला दल बेवास्ता गरेकोले जातीय समुदायको पहिचान सम्बोधन हुन नसकेको उनले टिप्पणी गरे। पहिचानको मुद्दा, सभ्यता संस्कृति, भाषा र अधिकारसंग जोडिएको विषय भएकाले यसको महत्व रहेको विश्लेषक खतिवडाको भनाइ थियो।

लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले मधेस प्रदेश बाहेक नेपालमा अन्य प्रदेशले पहिचान कायम गर्न नसकेको बताए।उनले कोशी प्रदेश खारेज गरी पहिचानका आधारमा त्यसको नामकरण गर्न आन्दोलन जारी रहेकाले यसको सम्बोधनमा दलका नेताहरु गम्भीर हुनुपर्नेमा जोड दिए।
विश्लेषक संग्रौलाले पहिचानको आन्दोलन अन्य प्रदेशमा पनि फैलियो भने दलका नेताहरुलाई सम्बोधनमा थप समस्या पर्ने पनि बताए। ठूला दलले पहिचानको मुद्दाको घाँटी निमोठ्ने काम गरिरहेको उनको भनाई थियो।

लेखक तथा विश्लेषक भवानी बरालले प्रदेश २ को नाम मधेस प्रदेश जुराएर मधेस प्रदेश अग्रगमनको बाटो तय गरेको बताउनुभयो।प्रदेश १ को पहिचानवादी नामकरण गर्दा यहाँको आदिवासीवासी थारु, राजवशी, धिमालसंग समेत राय र विचार लिन आवश्यक रहेको बरालको कथन रहेको छ ।
दलका नेता तथा शासकहरु पहिचान र समृद्धिको बाधक बनिरहेकाले छोराको नाम विकास र छोरीको नाम समृद्धि राखेर चित्त बुझाउने अवस्था रहेको उनले व्यंग्य गर्दै भने।

आदिवासी जनजाति पत्रकारको छाता संगठन (फोनिज) ले आफ्नो २४ औं स्थापना दिवस प्रदेश १ को विराटनगरमा विविध कार्यक्रम गरी मनाएको छ।पहिचानको मुद्दामा सहयोग गर्न र पहिचानवादलाई स्थापित गर्ने उद्देश्यले फोनिजले यस वर्ष स्थापना दिवस विराटनगरमा मनाउने निर्णय गरेको अध्यक्ष गजुरधन राईले बताए।प्रदेश १ मा सिंगो फोनिज आएर स्थापना दिवस मनाउँदा सकारात्मक सन्देश प्रवाह भएको अध्यक्ष राईको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्