पाकिस्तानी दूताबासले मनायो स्वतन्त्रता दिवसको ७६ औं वार्षिकोत्सव

0
Shares

काठमाडौं।

काठमाडौंस्थित पाकिस्तानी दूताबासले सोमबार पाकिस्तानको स्वतन्त्रता दिवसको ७६ औं वार्षिकोत्सव मनाएको छ । दूताबास परिसरमा आयोजित स्वतन्त्रता दिवस वार्षिकोत्सव समारोहमा दूताबासका कार्यबाहक राजदूत एवं चार्ज–डे–अफेयर्स उमेर अलीले पाकिस्तानको झण्डोत्तोलन गरेका थिए ।

दूताबासका अधिकारीहरु, उनीहरूका परिवार र नेपालमा रहेका पाकिस्तान समुदायको सहभागिता रहेको उक्त समारोहमा कार्यवाहक राजदूत अलीले पाकिस्तानको स्वाधीनता दिवसको अवसरमा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीले दिनुभएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

 

सन्देशमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पाकिस्तानले सामना गरिरहेका चुनौतीको सामना गर्न राष्ट्रिय एकता र आत्मविश्वासका लागि आह्वान गरेका छन् । सन्देशमा सरिफले भनेका छन्–‘देशले भोगिरहेको चुनौती सामना गर्न पाकिस्तानका जनताले स्वतन्त्रताका लागि भएको संघर्षमा जस्तै दृढसंकल्प जगाउनुपर्छ र एकता अनि आत्मविश्वासको सिद्धान्तलाई प्रयोग गरेर अगाडिको मार्ग प्रशस्त गर्नुपर्छ । विगत साढे सात दशकमा विषम परिस्थितिहरूविरुद्ध हामीले हासिल गरेका थुप्रै उपलब्धीहरूको महत्वलाई नकार्न सकिंदैन । हामीले सबैभन्दा खराब प्राकृतिक प्रकोप, द्वन्द्व र युद्धको सामना गरेका छौं । तर पनि सधैं राम्रो निर्माण गर्न सफल भएका छौं।’

 

उनले स्वतन्त्रता दिवसको दिन पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्ना र उनलाई साथ दिने सबै ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सन्देशमा भनेका छन्– ‘स्वतन्त्रताको भावनाले पाकिस्तानीहरूलाई चुनौतीहरू पार गर्न र सबैका लागि न्याय, समानता र समृद्धिको सिद्धान्तलाई मूर्त रुप दिने राष्ट्रको दिशामा काम गर्न प्रेरित गरिरहेको छ ।’