सरकारको एकनिष्ठ उद्देश्य- सुशासन, सामाजिक न्याय र समृद्धि : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौँ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको एकनिष्ठ उद्देश्यमा अगाडि बढिरहेको बताएका छन् । गृह मन्त्रालय अन्तर्गतका निकायहरूको आव २०७९/८० को चौथो त्रैमासिक/वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति(एमडीएसी) को बैठकलाई सोमबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

‘गुणात्मक आर्थिक सामाजिक समृद्धिका लागि सुशासन पहिलो सर्त हो।’ बैठकमा गृहमन्त्री श्रेष्ठले भने – ‘त्यसैले भ्रष्टाचार, अराजकता, दण्डहीनता र ठगी जस्ता अपराधको नियन्त्रण अहिलेको मुल प्राथमिकता हो।’ गृह मन्त्रालय र प्रहरी, अध्यागमन, बिपद जोखिम, परिचयपत्र पंजीकरण लगायत मातहतका सबै निकायहरूको कामलाई निरन्तर समिक्षासहित अझ व्यवस्थित तथा मर्यादित बनाइने र समग्र सुधार योजना बनाएर अगाडि बढिने मन्त्री श्रेष्ठले बताए ।

बैठकमा मन्त्रालय अन्तर्गतका निकायका काम तथा योजनाहरू प्रस्तुत गरिएका थिए। र, त्यसबारे अन्तरक्रियात्मक समीक्षा भएको थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधिको समेत बैठकमा सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्