हत्या मुद्दामा ६ वर्षदेखि प्रहरीको ‘खोजी सूची’मा रहेका व्यक्ति केन्द्रीय कारागारमा भेटिए

0
Shares

काठमाडौँ।

काठमाडौँको बल्खुमा ५० वर्षीय महिलाको हत्यामा संलग्न आशंकामा प्रहरीको ‘खोजी सूची’मा रहेका व्यक्ति केन्द्रीय कारागारमा भेटिएका छन् । वास्तविक नाम ढाँटेर चोरी मुद्दामा जेल बसेको अवस्थामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका शिवराम अधिकारी भेटिएका हुन् ।

शिवराम आफ्नो नाम ढाँटेर चोरी मुद्दामा जेलमा बसिरहेको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। प्रहरी नायव उपरीक्षक गोविन्द पन्थी नेतृत्वको टोलीले गरेको लामो अनुसन्धानपछि ४६ वर्षीय शिवराम नाम ढाँटेर अर्जुन अधिकारीको नाममा जेलमा बसेको थाहा भएको हो ।

२०७४ पुसमा शिवरामले आफूसँगै ज्यामी काम गर्ने ५० वर्षीय नारायणी तिमल्सिना ‘अप्सरा’को हत्या गरेको आरोप छ । २०७४ पुस ३० मा मकवानपुर घर भएकी नारायणीको शव काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु भुवनेश्वरी मन्दिरमा भेटिएको थियो ।

मृतकको खल्तिमा फेला परेको मोबाइलको आधारमा आफन्तले शव सनाखत गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट शिवरामसँग मृतकको फोन सम्पर्क धेरै देखिएपछि प्रहरीले उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो ।

हत्यापछि धादिङस्थित घरमा नगएका शिवराम उदयपुर, सिरहा र मकवानपुर लगायतका ठाउँमा लुकेर बसे । पछि परिवारसहित काठमाडौँको रामकोटमा तरकारी खेती गर्न थालेका उनी थानकोट क्षेत्रमा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । २०७९ कात्तिकबाट उनी केन्द्रीय कारागारमा थुनामा परेको थाहा भएको छ ।

कर्तव्य ज्यान मुद्दामा शिवरामलाई बयान लिएर थप अनुसन्धान अघि बढाउन प्रहरी वृत कालिमाटीमा पठाइएको प्रहरीले जानकारी दिएको छ।