विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय : कांग्रेस



काठमाडौँ।

सत्तारुढ दल नेपाली कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको बताएको छ । यस्ता गैरकानूनी पूर्ण रुपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भएपनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानूनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भएपनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरिएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

त्यसैगरी संसदमा विचाराधिन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न कांग्रेसले सरकार र संसदमा क्रियाशिल सबै दलहरुलाई अपील गरेको छ । संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने सम्बन्धी विधेयक ल्याउन पनि सरकारसँग माग गरेको छ । कांग्रेसले संसदभित्र विधायनको काममा दत्तचित्त भई प्रभावकारी रुपले लाग्ने निर्णय गरेको लेखकले स्पष्ट पारे ।

कांग्रेस संसदीय दलको बैठकले आ.व. २०८०/८१ को बजेटमा भएका कमी, कमजोरीहरुलाई सुधार गर्दै चालु आ.व.को बजेटलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध गरेको छ । कांग्रेसले संघीय संसदलाई प्रभावकारी बनाएर निरन्तर काम गरिरहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

कांग्रेस प्रमुख सचेतक लेखकले वर्तमान सत्तारुढ गठबन्धन कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको बताए । उनले अहिलेको सन्दर्भमा गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपमा काम गर्न आवश्यक रहेको बताए । बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गरेको उनले बताए ।

त्यसैगरी बैठकले उपभोग्य वस्तुको मूल्यवृद्धि र कालाबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सबै प्रकारका घटनाहरुको स्वतन्त्र रुपमा छानबिन गर्न सरकारसँग माग गरेको छ भने भ्रष्टाचार, अनियमितता र बेथितिको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारलाई अनुरोध गरेको छ । लेखकले सरकारी निकायले दिने सेवा प्रवाह छिटो, छरितो हुनुपर्ने, जग्गाको कित्ताकाटमा देखिएको समस्याको समाधान गर्नुपर्ने लगायत अन्य विभिन्न जनसरोकारका विषयमा पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्