काठमाडौँ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुन तस्करी धेरै हुन थालेको बताएका छन् ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले तस्करी रोक्न भए कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘कर तिरेर यो सुन खुल्ला गर्ने व्यवस्था गर्नुपर्छ । यसले तस्करी रोक्न मदत गर्छ’, देउवाको भनाइ छ ।
उनले नेताहरूको आलोचना गर्न पाइने पनि बताएका छन् । तर उनले पार्टीको अनुशासनभन्दा बाहिर गएर बोल्ने कुरा राम्रो नहुने भन्दै नेताहरूलाई जथाभाबी नबोल्न चेतावनी दिएका छन् ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस दलको बैठकले प्रमुख प्रतिपक्ष दललाई सदन खुलाउन आग्रह गरेको बताए । सांसदका दुई सदन लामो समयदेखि अवरुद्ध भएको भन्दै उनले सांसदले सरकारलाई जबाफदेही बनाउनुपर्ने पनि बताए । ‘संसद् जनताप्रति जबाफदेही हुनुपर्छ । संसद् अवरुद्ध गर्नु गैर जिम्मेवारी काम हो ।लामो समयसम्म संसद् अवरुद्ध गर्नु राम्रो होइन । प्रमुख प्रतिपक्षीलाई संसद्लाई खुलाउन यो बैठक आग्रह गर्दछ’, लेखकको भनाइ छ । साथै उनले सुन तस्करीमा सरकारले गहिरोसम्म पुरेर छानबिन गर्नुपर्ने पनि बताए ।
प्रतिक्रिया