कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या

0
Shares

लमजुङ । जिल्लास्थित डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको कार्यालयले जनाएको छ ।

लामो समयदेखी दरवन्दी अनुसारका कर्मचारीको पदपूर्ति हुन नसक्दा कार्यालयले सम्पादन गर्ने दैनिक कामहरू प्रभावित भएका छन् ।

४५ जनाको दरवन्दी रहेको उक्त कार्यालयमा हाल २२ जनाकर्मचारी कार्यरत रहेका छन् । कार्यालयमा सवैभन्दा बढी वन रक्षकको अभाव रहेको छ ।

२५ जना वन रक्षकको दरवन्दी रहेको कार्यलयमा हाल १८ जना वन रक्षकको पद रिक्त रहेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार तीन जना वनअधिकृत, एक जना नायव सुब्वा र एक जना खरदारसहित २३ जनाकर्मचारीको पद रिक्त रहेको छ । कर्मचारी अभावको समस्या र कर्मचारी अभावकै कारण सेवाप्रवाहमा विभिन्न चुनौतीको सामना गर्दै गत आर्थिक वर्ष ०७९÷८० मा कार्यालयले ८१.४२ प्रतिशत प्रगति हासिल गरेको डिभिजन वन अधिकृत सुवेदीको भनाइ छ ।

डिभिजन वन कार्यालय माताहतका जिल्लाका सव–डिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न निकै समस्या भएको वताउँदै आएका छन् । एक जना वन अधिकृतले तीन वटासम्म पालिका तथा दुई सव डिभिजन कार्यालय हेर्नुपर्ने वाध्यता रहेकाले दैनिक कार्यसम्पादनमा निकै समस्या भएको कार्यालय प्रमुख सुवेदीको भनाइ छ ।

आठवटा स्थानीयतह रहेको लमजुङमा प्रत्येक पालिकामा एक सव डिभिजन कार्यालय हुनुपर्नेमा दुई पालिका हेर्ने गरी एक सवडिभिजन कार्यालय रहेको छ । उक्त कार्यालयमा पनि दरवन्दी अनुसारको कर्मचारी नहँुदा अन्य कर्मचारीलाई मार पर्ने गरेको छ ।

केही कर्मचारी करारमा राखेर काम गर्ने गरेको भए पनि दरबन्दी अनुसार कर्मचारी अभावका कारण जिल्लाका विभिन्न सामुदायिक वनको स्थलगत अनुगमनलगायत समग्रमा वनको हेरचाहमा समस्या आउने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्तोष खनालले वताउनुभयो ।

लमजुङमा कुल भू–भागमध्ये ६७ हजार ७ सय ३४ हेक्टर क्षेत्रफलमा वन क्षेत्रले ओगटेको छ । कुल वन क्षेत्रको करिव २८ प्रतिशत अर्थात् १८ हजार ८ सय ५० हेक्टर वन क्षेत्र एक्यापको क्षेत्रभित्र पर्ने कार्यालयका सूचना अधिकारी खनालले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार जिल्लामा १ धार्मिक वनसहित ३ सय ४१ सामुदायिक वन उपभोक्त समूह र १ सय ७३ कवुलियती वन समूह रहेका छन् । सो बाहेक वन क्षेत्र प्रयोग गरेका ५२ आयोजना रहेको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।