गण्डक ब्यारेजका ३६ ढोका खुला



नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि सीमावर्ती क्षेत्र त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ ढोका खुला गरिएका छन् ।

गण्डक ब्यारेजमा अहिले ३ लाख १४ हजार क्युसेक पानीको बहाव रहेको बताईएको छ ।

(हिजो) आइतबार साँझैदेखि नारायणी नदीमा बाढीको सतह बढ्दै गएपछि ब्यारेजले सबै ढोका खोलिदिएको बुझिएको छ ।

नारायणी नदीमा बाढी आउँदा विशेष गरि सुस्ता गाउँपालिकाको– ३,४ र ५ मा विगतमा जोखिममा पर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ । यहाँको बी ग्यापमा बाढी ठोक्किदा यो क्षेत्र कटान तथा डुबानमा पर्ने गरेको छ ।

गण्डकीका साथै वागमति प्रदेशको पश्चिमी पहाडी क्षेत्रमा लगातार परेको पानीका कारण नारायणी नदीमा ठूलो बाढी आएको हो ।

नारायणी नदीमा जल सतह बढेपछि नदी किनारका गाउँ–बस्तीमा बाढी पस्ने खतराले स्थानीयहरू त्रसित बनेकाछन् ।

पछिल्लो जानकारी अनुसार सोमबार बिहान ८ बजे देवघाटस्थित नारायणी नदीको जल स्तर ७ दशमलव ४७ मापन भएको छ ।
जलस्तर ७ दशमलव ३ देखि खतराको तह शुरू हुने हुँदा मानिसहरूमा बाढीको त्रास बढेको हो ।

यसैबीच नदीको जलस्तर बढेपछि गैडाकोट २ बोटे टोलका ३२ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको नवलपरासी पूर्वका प्रजिअ कल्पना श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्