बंगलादेशीलाई बन्धक बनाई फिरौती माग्ने समूह सार्वजनिक



काठमाडौं । नेपालको बाटो हुँदै वैदेशिक रोजगारीका लागि नेपाल आएका बंगलादेशी नागरिकहरूलाई बन्धक बनाई फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

युरोपका विभिन्न मुलुकमा रोजागारीका लागि नेपालबाट पठाउने भन्दै राजधानी काठमाडांैका विभिन्न होटल तथा सेफ हाउसमा बन्धक बनाएर फिरौती माग्ने समूहलाई उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

सो समूहले नेपाली भूमिबाट विदेश जान नेपाल आएका बंगलादेशी नागरिकसँग प्रतिव्यक्ति १० लाख रुपियाँ फिरौती मागेको र रकम नदिए हत्या गर्नेसम्मको धम्की दिएको खबर बाहिरिएपछि प्रहरीले बन्धक बनाउने नेपाली नागरिकको खोजीलाई तीव्र बनाएको थियो ।

अपहरण काण्डमा संलग्न रहेका बंगलादेशी तथा नेपाली गरी ७ जनालाई महाशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज केसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

सो समूहले रोजगारीका लागि नेपाल आएका ६ जना बंगलादेशी नागरिकलाई सकुशल उद्धार गरेको छ । प्रहरीले उक्त काण्डमा संलग्न रहेका बंगालादेशी नागरिक अमिर हुसेन, एमडी मोसिउर, सलिम मियाँ, जहाङिर आलम, तहमिना बेगमका साथै नेपाली नागरिक सिन्धुपाल्चोककी तारा नेपाली र इलामकी रोशनी राई रहेका छन् ।

वैदेशिक रोजगारीका लागि नेपाली भूमि प्रयोग गरेर जान लागेका ती बंगलादेशी नागरिकसँग रहेको पैसा सो समूहले शुरूमा नै नियन्त्रणमा लिएपछि थप पैसा परिवारसँग माग्न थालेका थिए । उनीहरूले प्रतिव्यक्ति ५० हजारदेखि १० लाख टाकासम्म मागेपछि परिवारका सदस्यले नेपालमा रहेका चिनजानका व्यक्तिलाई खबर गरेका थिए ।

एक जना बंगलादेशी नागरिकले भृकुटी मण्डपमा रहेको पर्यटक प्रहरी कार्यालयमा गएर नेपालमा आएका बंगलादेशी नागरिक अपहरणमा परेको बताएपछि सो कार्यालयले उपत्यका अपराध अनुसन्धान महाशाखालाई खबर गरेको थियो ।

उक्त खबर पाएपछि महाशाखाको टोलीले अपहरणकारी गिरोहको खोजीलाई तीव्र बनाएको थियो । टोलीले अपहरणमा संलग्न रहेका व्यक्तिहरूको पहिचान गरी अपहरणमा परेका व्यक्तिहरूलाई कालिमाटी डोलमा रहेको मेमोरियल गेस्टहाउसबाट एमडी नाजमूल, एमडी इयासिन, इब्राहिम हुसेन र एमडी अलअमिनलाई उद्धार गरेको थियो । त्यस्तै, हरिसिद्धीको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

एजेन्टले शुरूमा उनीहरूलाई युरोपेली मुलुक पठाउने भन्दै प्रतिव्यक्ति ५ लाख टाका लिएर नेपाल पठाएको थियो । नेपाल आएपछि नेपालमा रहेका एजेन्टले उनीहरूको साथमा रहेको नगद तथा मोबाइल आफ्नो नियन्त्रणमा लिएर थप पैसा मगाउन निर्देशन दिएका थिए ।

अपहरणमा परेका केही व्यक्तिले पत्रकार सम्मेलनमा बंगलादेशी पीडित नागरिकहरूले आफूहरूलाई एजेन्टले पोल्यान्डलगायतका देश पठाउनका लागि ५ लाख टाका लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको गुनासो गरेका थिए । उनीहरूले नेपाल आएपछि आफूहरूसँग भएको पैसा र मोबाइल पनि लिएको बताए । अपहरणकारीले शेख पनिरको खातामा पैसा पठाउन निर्देशन दिएपछि बंगलादेशमा रहेका उनीहरूको परिवारले १० लाख टाका पठाएका थिए ।

अपहरणमा परेका परिवारले १० लाख टाका पठाएपछि पुन ः १० लाख पठाउन आग्रह गर्दै पैसा नपाए अपहरणमा परेका सबैको हत्या गर्ने धम्की दिएको पनि एसएसपी केसीले जानकारी दिनुभयो ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको एसएसपी केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्