समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई

भोलि शपथ



काठमाडौँ।

जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिने भएकी छिन् ।

सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनले भने, “हामीले उनको नाम धेरै अघिदेखि पठाएका थियौँ । भोलि बिहान १० बजे राष्ट्रपति भवनमा शपथका लागि खबर आएको छ ।”

जनमत पार्टीको सचिवसमेत रहेका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । मन्त्रालयको जिम्मेवारी पाउने खबरले आफू उत्साहित र जिम्मेवार महसुस गराएको साहले बताइन् ।

“पार्टीबाट स्थानीय तहमा उम्मेदवारीको अवसर पाएको थिएँ”, उनले भनिन् , “पार्टीको हरेक तहतप्कामा दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गरेँ । अहिले पार्टीले विश्वास गरेरै यो जिम्मेवारी दिएको छ । उत्साहित छु, जनताप्रति उत्तरदायी हुने प्रयास गर्नेछु ।”

साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् । उनी किसान आन्दोलनको अग्रमोर्चामा सहभागी भएकी थिइन् । धनुषा जिल्लाको पार्टी इनचार्जको जिम्मेबारीसमेत निर्वाह गरिसकेकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो।

यसअघि उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको प्रमुखका रूपमा उम्मेदवारी दिएकी थिइन् । उनी जनकपुरमा भएको पार्टीको महाधिवेशनको आयोजक समितिको अध्यक्ष समेत बनिन् ।

विसं २०३९ मा औरही गाउँपालिकामा जन्मिएकी उनले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गरेकी छन् । ‘वोरेक नेपाल’ नामक संस्थासँग आबद्ध भएर काम गरेकी उनी एक दशक महिला अधिकार र समाजसेवा सम्बन्धित काममा आबद्ध थिइन् ।

प्रतिक्रिया दिनुहोस्