काण्डै-काण्डले देशलाई विग्रहतर्फ धकेलेको छ : कोइराला

देश अराजकतातिर उन्मुख भइरहेको छ



भक्तपुर। 

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकतातिर उन्मुख भइरहेको भन्दै काण्डै–काण्डले देशलाई विग्रहतर्फ धकेलेको बताएका छन् ।
आज भक्तपुरको कौशल्टारमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजना गरेको प्रदेश सम्मेलनमा बोल्दै उनले देशमा पछिल्लो पटक आएको सुन काण्डले त्यसअघिका सबै काण्डहरुलाई बिर्साइदिएको हो कि भन्ने लागेको बताए ।

उनले भारतमा खपत हुने १३ सयदेखि १४ सय टन सुन मध्ये ८ सयदेखि ९ सय टनमात्रै आयात गर्ने र बाँकी सुन अबैधरुपमा नेपालबाटै भित्रिने गरेको आशंका व्यक्त गरे ।

सुन काण्ड हुनुभन्दा १० दिनअघि मात्रै प्रधानमन्त्रीको सचिवालयबाट नवराज ढुंगानालाई राजस्व विभागको प्रमुख बनाउनुको रहस्य खोज्नु पर्ने भन्दै उनले नेपालबाट हरेक दिन कति सुन तस्करी भइरहेको छ भनेर खोजी गर्नु पर्ने औँल्याए ।

काँग्रेस नेता कोइरालाले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीले आफ्नो मातहतमा राख्न नहुने बताए।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री उनले राजस्व विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान प्रधानमन्त्रीले राख्नुहुँदैन भनेर आवाज उठ्दा ओलीले पनि नसुनेको, त्यसपछि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले पनि नसुनेको र अहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि नसुनेको बताए ।

नेता कोइरालाले प्रधानमन्त्रीले ती तीनवटै निकायबाट लाभ उठाउने काम भइरहेको आशंका व्यक्त गरे ।
राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाईनै क्षति पुर्‍याउने बताए ।

नेता कोइरालाले भने, “सुन काण्डकाबारेमा नेपाली काँग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो, त्यसैको आधारमा उहाँमाथि प्रतिशोध साँध्ने काम भयो, उहाँका गल्ती कमजोरीहरू छन् होला, त्यस्तो छ भने त्यसको छानबिन गरी कारबाही हुनुपर्छ  तर प्रतिशोध साध्ने काम भयो भने त्यसले देशलाई कहाँ पुर्‍याउँछ ? यो गम्भीर विषय हो ।

सुन काण्डमाबारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साधेको तर्फ सङ्केत गर्दै उनले राजनीतिमा प्रतिशोधको भावना सुरु भए राजनीति राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पु¥याउँने उनको भनाइ थियो । कांग्रेस सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले साउन २५ गते पक्राउ गरेको थियो । शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली रहेको सीआईबीको अनुसन्धानमा देखिएको थियो ।
सीआईबीले थुनामा राखेर अनुसन्धान गर्न साउन २६ मा जिल्ला अदालत, काठमाडौँमा पेस गरेको थियो। तर अदालतले भने सांसद शर्मालाई तारेखमा रिहा गर्न र अन्यलाई थुनामा राख्न अनुमति दिएको थियो ।

कार्यक्रममा काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमिमा नगर सुरेन्द्र श्रेष्ठ, काँग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति ओम श्रेष्ठलगायतले सम्मेलनको सफलताको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्