समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहनु जरुरी छैन : झलनाथ खनाल

0
Shares

काठमाडौँ।

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गरे।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताए।

‘हामी सरकारसँग पनि संघर्ष गछौं । अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन। किन नगरिएको हो म सरकारसँग प्रश्न गर्न चाहन्छु। यदी हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुप¥यो,’ खनालले भने, ‘होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि? म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुद मन्त्रीलाई सोध्न चाहन्छु।’

सम्मानित नेता खनालले आफ्नो पार्टीको समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्नेगरी संगठन बिस्तार गर्न पनि खेलकुद क्षेत्रमा आवद्ध पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘सबै खेलाडीहरू उत्साह र उमंगका साथ यो क्षेत्रमा लाग्नुस्। र, आफ्नो संगठनलाई बिस्तार गर्नुस्। जनतालाई व्यापक रुपले गोलबन्द गर्नुस्। खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ,’ उनले भने।