सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै दिन टिक्न सक्दैन : शेखर कोइराला



काठमाडौँ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्।

नेपाली कांग्रेस भक्तपुरले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

‘सुशासन आजैदेखि यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु। यो अत्यन्त गम्भीर विषय छ,’ कोइरालाले भने।

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको तर्क गरे। उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने पनि बताए।

‘अमेरिकाले अहिले आफ्नो इन्भेस्मेन्ट पोलिसी बनाएको छ। नेपालमा प्रचुर सम्भावना छ भन्छ। फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ,’ कोइरालाले भने, ‘तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ। दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ। राजनीतिक स्थिरता नभई अप्ठ्यारो हुन्छ भनेर इन्द्र बानियाँजीले भन्नुभयो। राजनीतिक अस्थिरता छ भनेर भन्छ। यो एक हप्ता पहिलेको रिपोर्ट हो यो।’

उनले अघि थपे, ‘तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ। चौथोले के भन्छ भने कानुन यदी लचक बनाउँछौं हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ। यो चार वटा कुरालाई हामीहरूले सम्बोधन गर्नसक्यौं भने नेपालको भविष्य उज्ज्वल छ।’

नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहोर्‍याए।

नेता कोइरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्