पाकिस्तानको स्वतन्त्रता दिवसको ७६ औं वार्षिकोत्सव मनाइयो

0
Shares

काठमाडौं

पाकिस्तानको स्वतन्त्रता दिवसको ७६ औं वार्षिकोत्सवको अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले बिहीबार साँझ राजधानीमा स्वागत समारोहको आयोजना गरेको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका उक्त समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हुसेन हाश्मीले नेपाल र पाकिस्तानबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै नेपालको आर्थिक र सामाजिक विकासमा पाकिस्तानले सक्दो सहयोग गर्ने बताए ।

सन् १९६० मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै गएको जिकिर गर्दै राजदूत हाश्मीले भने – “नेपाल र पाकिस्तान दुबै देशले जलवायुलगायत साझा चासोको विषयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझेदारी गर्दै आएको छ । प्राकृतिक प्रकोपलगायतका समस्यामा पनि दुबै देशले एकअर्कालाई सहयोग गर्दै आएको छ ।” उनले पाकिस्तानको राजदूतको रुपमा आफू दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन क्रियाशिल रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा. मञ्जुरत्न शाक्यले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ं का संस्थापक राष्ट्र नेपाल र पाकिस्तानले यस क्षेत्रको शान्ति, समृद्धि र विकासका निम्ति समान दृष्टिकोणका साथ द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्दै आएको बताए ।

समारोहमा मन्त्रीपरिषद्का सदस्य, उपसभामुख, सांसद, कुटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, पत्रकारलगायत नेपालमा रहेका पाकिस्तानी नागरिकहरुको सहभागिता रहेको थियो ।