वर-पीपल रोप्दै ओलीले भने : सामुदायिक वनलाई उत्पादन र आयआर्जन केन्द्रित गरिनुपर्छ



काभ्रे। 

सामुदायीक वन दिवसको सन्दर्भमा नेकपा एमालेको केन्द्रीय बन तथा वातावरण विभागले काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ स्थित अल्छेचौर सामुदायिक वनमा वृक्षारोपण गरेको छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको धर्मपत्नि राधिका शाक्यले वर र पिपलको बिरुवा रोपण गरेर अभियानको सुरुवात गरेका थिए ।

‘सामुदायिक वनको संरक्षण सँगै त्यसबाट उत्पादन र आयआर्जन गरिनु पर्छ’–अध्यक्ष ओलीले भने–‘वैज्ञानिक वन व्यवस्थापनका नाममा सालको घारी फडानी कार्य गलत छ ।’ नेपाल अन्य देशको तुलनामा वन र वातावरणको क्षेत्रबाट अघि बढिरहेको बताउँदै अध्यक्ष ओलीले नेपालले बाघ संरक्षणमा उल्लेख्य सफलता हासिल गरेको बताए । वनलाई वनकै रुपमा विकास गर्न सामुदायिक वनको भूमिका महत्त्वपूर्ण भएको बताउँदै अध्यक्ष ओलीले वनको संरक्षणसँगै सही रुपमा उपभोग गर्न अनुराधे गरे । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बरालले नेकपा एमालेले देशभर नै सामुदायिक तथा निजी वन र सरकारी वनलाई समेत आय आर्जनका रुपमा विकास गरी उत्पादनमा जोड्न अभियान सुरु गरिएको बताए । पार्टीको वन तथा वातावरण विभागले देशभर यो अभियान सुरु गर्ने गरी पहिलो पटक काभ्रेको धुलिखेलबाट कार्यक्रम प्रारम्भ गरिएको स्थायी कमिटी सदस्य बरालले बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सामुदायिक वन मानव, वन्यजन्तु र पथ्विसँग जोडिएकाले यसको संरक्षण गर्नु जरुरी भएको बताए । ब्यक्तिको जीवनसँग वनको प्रत्यक्ष सम्बन्ध रहेकाले वनको संरक्षण तथा सम्र्वद्धनसँगै आयआर्जनसँग जोड्ने अभियान एमालेले सुरु गरेको बास्कोटाले बताए । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकामा मात्रै पाँच वर्षमा ५ लाख बिरुवा रोपण गर्ने कार्य अन्र्तगत यो वर्ष ५० हजार बिरुवा विभिन्न संस्थासँगको समन्वयमा रोपण गरिसकिएको बताए । धुलिखेल ग्रिन, क्लिन, हेल्थि सिटीको अवधारणा अनुरूप कार्य गरिरहेको नगर प्रमुख एवं पार्टी अध्यक्ष अशोक ब्याञ्जुले बताए ।

 नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर २ रवि अल्छेचौर सामुदायिक वनमा विभिन्न जातका फलफूलका बिरुवा रोपण गरिएको छ ।

स्थानीय सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय, एमाले वडा तथा नगर र जिल्ला कमिटी, डिभिजन वन कार्यालय काभ्रे तथा विभिन्न निकायको समन्वयमा वातावरण अनुकुलन फलफूलका प्रजातिहरु लगाइएको वडा अध्यक्ष अर्जुन न्यौपानेले बताए । एमाले अध्यक्ष ओलीले २०७४ सालमा निर्वाचित वडा अध्यक्ष राजन कोइरालाको स्मृतिमा तयार गरिएको शालिक अनावरण गरेका थिए । कोइरालाको हत्या भएको लामो समयसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । अध्यक्ष भारती पाठकले विभागले देशभरका जिल्लामा सामुदायिक वनलाई उत्पादन र आयआर्जनसँगै रोजगारमा जोड्ने अभियान स्वरुव फलफूलका बिरुवा रोपण गर्न लागिएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्