टेलिकममा बदमासी : उता प्रबन्ध निर्देशक बयान दिँदै यता १० लाख मूल्यको रिचार्ज कार्ड गायब



काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिइरहँदा यता टेलिकमममा भने १० लाख मूल्य बराबरको रिचार्ज कार्ड नै गायब भएको छ । प्रबन्ध निर्देशक पौडेलको कमजोर व्यवस्थापनका कारण कर्मचारीले नै सो रिचार्ज कार्ड गायब बनाएको हुन सक्ने टेलिकम स्रोतको दाबी छ ।

पौडेललाई नेसनल पेमेन्ट गेटवे खरिदमा करोडौं अनियमिता गरेको आरोपमा अख्तियारले बारम्बार बयान लिँदै आइरहेको छ । यही क्रममा टेलिकममा १० लाख मूल्य बरारको रिचार्ज कार्ड गायब हुनुलाई शंकाको रूपमा हेरिएको छ ।

टेलिकमले बुधबार एक सूूचना जारी गर्दै १० लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको जनाएको हो । टेलिकमका अनुसार ढुवानीका क्रममा सि नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्डहरू हराएका छन् । ती सिनं भएका रिचार्ज कार्डहरू भेटिएमा खरिद तथा बिक्री वितरण नगर्न टेलिकमले आग्रह गरेको छ । त्यस्तै, ती सिन भएका रिचार्ज कार्डहरू भेटिएमा नजिककै दूरसञ्चार कार्यालयमा बुझाइदिन पनि टेलिकमले आग्रह गरेको छ ।

टेलिकमले हराएको बताए पनि केही कर्मचारीकै मिलेमतोमा ती रिचार्ज कार्डहरू बेपत्ता पारिएको स्रोतको दाबी छ । अख्तियारको छानबिनले तनावमा परेका पौडेलले १० लाख मूल्यको रिचार्ज कार्ड हराउँदा पनि गम्भीरतापूर्पक छानबिन गर्न सकेका छैनन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा सुनिलको नेतृत्वमा भएको नेसनल पेमेन्ट गेटवे खरिदमा करोडौं अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन गर्दै आइरहेको छ ।

सुनिलको नेतृत्वमा खरिद गरेको नेसनल पेमेन्ट गेटवेमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरूपयोग गरेको आरोपमा अख्तियारले सुनिलसँग बयान लिने क्रम जारी राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्