पोखरा महानगरको फोहोर आजदेखि उठ्यो



 कास्की । 

अन्ततः पोखरा महानगरपालिकाको फोहोर मंगलबार बिहानदेखि उठेको छ । स्थानीयको अवरोधले विगत १२ दिनदेखि पोखराको फोहोर उठ्न सकेको थिएन । महानगरले नयाँबजारस्थित दमकल शाखामा खाडल खनेर अस्थायी रुपमा फोहारको व्यवस्थापन गरेको थियो । यद्यपि सबै फोहोरको व्यवस्थापन हुन नसकेपछि फोहोर सडकमै थुप्रिएको थियो ।

पोखरा विमानस्थलका कारण पोखरा १४ बाच्चेबुडुवास्थित पुरानो ल्याण्डफिड साइटमा फोहोर फाल्न रोक लगाइएपछि महानगरले स्थानीय लामेहालमा अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गरिएकामा स्थानीयको अवरोधले रोकिएको थियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

लामेआहालमा अस्थायी ल्यान्डफिल साइट बनाउन स्थानीयसँग महानगरले विभिन्न १६ बुँदे सहमति गरेको थियो। उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर फाल्न रोकेका थिए ।

महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकूल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेकामा उक्त रिटमाथि आइतबार सुनुवाई हुँदा निवेदकको मागबमोजिम अन्तरिम आदेश दिनु नपर्ने परमादेश दिएपछि महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्