माओवादी केन्द्रीय बैठक सम्पन्न, तीन महिने विशेष रूपान्तरण अभियानको घोषणा



काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी) केन्द्रले पाँच दिन चलेको केन्द्रीय समिति बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गरेको छ । गत बुधबारबाट चलेको बैठक आइतबार सम्पन्न गर्दै नेताहरूको कार्यविभाजन गर्नुका साथै ‘जनतासँग विशेष रूपान्तरण अभियान’को घोषणा गरेको हो ।

उक्त अभियानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सबै केन्द्रीय सदस्यहरू वडावडामा पुगेर जनतासँग जोडिने निर्णय गरिएको माओवादीका पोलिटब्युरो सदस्य हिमाल शर्माले जानकारी दिनुभयो । पार्टी बैठकमा अधिकांश नेताहरूले सबै तहका कमिटीहरू निर्वाचनमार्फत आउनुपर्ने धारणा राखेपछि पार्टीले सोहीअनुसार निर्णय गरेको उहाँले बताउनुभयो । ‘नेकपा माओवादी केन्द्रले सवै तहका कमिटीहरू निर्वाचनमार्फत चयन गर्ने भएको छ’, शर्माले भन्नुभयो– ‘परम्परागत ढंगले कमिटीहरू गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरू गठन गर्ने बैठकले निर्णय गरेको छ ।’

माओवादीले अहिलेसम्म अधिकांश पार्टी कमिटी चयन गर्दा नेतृत्वले भनेअनुसारको जिम्मेवारी दिने प्रथाबाट चल्दै आएको थियो । बैठकले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि सातै प्रदेशका सातवटा वडामा जनतासँग माओवादी विशेष रूपान्तरणअन्तर्गत खटिने निर्णय भएको नेताहरूले बताएका छन् ।

यस्तै, सबै पदाधिकारीको कार्यविभाजन तोकिएको छ भने रूपान्तरण अभियानको कार्यक्रम तय भएको छ । आगामी भदौ १६ गते एक समारोहका बीच अभियानको शुभारम्भ गर्ने पनि केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी पाएका पदाधिकारीहरूले स्थायी र केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजनको टुंगो लगाएर सर्कुलर जारी गर्ने महासचिव देव गुरुङले जानकारी दिनुभयो । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा पाँच दिन चलेको बैठक आइतबार समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक एकअर्कालाई प्रशिक्षित गर्ने र अन्तरक्रिया गर्ने थलोका रूपमा प्रभावकारी भएको बताउनुभयो । ‘यो बैठक आत्मालोचनाको बैठक पनि भयो । हामीले जति बेला जनयुद्ध गर्ने भनेका थियौं, त्यति बेला पनि नेताप्रति अविश्वास थियो । त्यसै गरी अहिलेसम्म पनि अबको बाटो कुन हो भनेर आलोचना खेप्नु परिरहेको छ’– उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी जनसम्बन्धलाई बचाइराख्न नसकेकोे स्वीकार गर्दै हरेक असफलताको प्रयोगबाट फेरि उज्यालो बाटो देखिन थालेको बताउनुभयो । पार्टी रूपान्तरणको अभियान आजैबाट शुरू भएकाले अब पछि फर्कने छुट माओवादी नेता कार्यकर्ताहरूलाई नभएको अध्यक्ष ‘प्रचण्ड’ले बताउनुभयो । उहाँले पाँच दिनसम्म चलेको बैठक सोचेको भन्दा सजीव र जीवन्त रूपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताउनुभएको छ । पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रूपमा बैठक रूपान्तरण भएको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्