डडेल्धुरामा व्यापक आर्थिक अनियमितता 

अख्तियारले अनुसन्धान थालेपछि कागजात मिलाइँदै

0
Shares

डडेल्धुरा। 

डडेल्धुरास्थित विभिन्न सरकारी कार्यालयहरुमा गत आर्थिक वर्षमा व्यापक आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान सुरु गरेको छ ।

डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिका, डिभिजन वन कार्यालय डडेल्धुरा र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले छानबिन सुरु गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन सम्बन्धित कार्यालयहरुलाई ताकेका गरेको हो । अख्तियारले यही भदौ १५ गते भित्रै सम्बन्धित कार्यालयहरुलाई राय प्रतिक्रियासहित प्रमाणित काजजात उपलब्ध गराउन आदेश दिएको छ।

अमरगढी नगरपालिका वडा नं. ४ वडा कार्यालयबाट विपद् व्यवस्थापन सामाग्री वितरण र अन्य वडामा सम्पन्न योजनाहरुका बारेमा उजुरी परेको भन्दै आर्थिक कारोबारसँग सम्बन्धित प्रमाणित कागजात माग गरिएको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए । उनले माग गरिएका कागजातहरु चाडै पठाउने तयारी भइरहेको बताए ।

डडेल्धुरा अस्पताललाई अक्सिजन प्लान्ट निर्माणमा भएको आर्थिक अनियमितता, विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले नियम विपरीत लिएको पेस्की रकम सम्बन्धी कागजात, औषधी खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नीको शल्यक्रिया गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिद सम्बन्धित कागजात मागेको छ ।

डिभिजन वन कार्यालय डडेल्धुरामा गत आर्थिक वर्षमा सञ्चालित विभिन्न कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ ।
जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा आर्थिक अनियमितता भएको सन्दर्भमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ । अख्तियारले छानबिन सुरु गरेसँगै अनुसन्धानको दायरामा आएका यँहास्थित सरकारी कार्यालयहरुले लेखासँग सम्बन्धित कागजात मिलाउन थालेका छन् । अमरगढी नगरपालिका वडा नं. ४ बाट विपद् व्यवस्थापन सामाग्री वितरणका नाममा किर्ते हस्ताक्षर गरेर भरपाई पेस गरिएको सन्दर्भमा हाल वडा कार्यालयले लाभग्राहीको घरमा पुगेर पुनः भरपाई गराउन थालेको तर सामाग्री हालसम्म उपलब्ध नभएको स्थानीय बताउँछन् ।

‘अधिकांस वडा कार्यालयहरुमा कुनै पनि किसिमका कागजात नभएकाले हाल कागजात मिलाउने काम भइरहेको छ,’ स्थानीय श्यामप्रसाद जोशीले भने,‘अमरगढी नगरपालिकाले कागजात मिलाउन केही कर्मचारीहरुलाई रात दिन काम गर्ने गरेर खटाएको पाइएको छ ।’ अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले हाल वडा कार्यालयहरुमा पुगेर आवश्यक कागजात मिलाउन निर्देशन दिइरहेको वडा कार्यालयहरुले जनाएका छन् । डिभिजन वन कार्यालय डडेल्धुराले भने आन्तरिक लेखा परीक्षणका क्रममा सबै कागजात मिलाई सकेको स्रोतले जनाएको छ । उजुरी परेका सरकारी कार्यालयहरुले कागजात मिलाएर अख्तियारको छानबिन प्रभावित पार्न खोजिरहेको कार्यालयमा कार्यरत कर्मचारीहरु बताउँछन् ।