उत्तराखण्ड पहिरोमा बेपत्ताको खोजी तथा उद्धार र स्वदेश फिर्तीको प्रबन्ध गर्न कांग्रेसको माग

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसले भारतको उत्तराखण्ड राज्यको केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली नागरिक बेपत्ता भएकोप्रति दु:ख व्यक्त गरेको छ । कांग्रेसले पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोज तथा उद्धार र उनीहरुको स्वदेश फिर्ताको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पहिरोमा परेर ११ जना नेपाली नागरिक बेपत्ता भएको घटनाप्रति दु:ख व्यक्त गर्दै खोज तथा उद्धारका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

‘पहिरोमा बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ । यस दुःखद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति नेपाली कांग्रेस गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गर्दछ,’ उनले विज्ञप्तिमार्फत् भनेका छन्, ‘बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्ब पहल गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।’