प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित रह्यो : अध्यक्ष ओली



काठमाडौँ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण राष्ट्रिय स्वार्थभन्दा सत्तास्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभइ सत्ता स्वार्थ मात्रै प्रधान भएको दावी गरे।

पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धि एमालेको धारणा’ विषयक विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।

उनले नेपाली आवश्यक्ता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुरामा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरी देखाएको जिकिर गरे । अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको आरोप लगाए ।

राष्ट्रिय हितलाई सर्वोपरी राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरु सदैव तयार रहेको र रहिरहने उनले अडान राखे । सरकारले मनपरी र बेठिक ढंगले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने ओलीको भनाइ छ ।

उनले भने, “प्रधानमन्त्री प्रचण्ड हालै भारत भ्रमणमा जानुभएको थियो । कुन–कुन सम्झौंता गर्नुभयो केही बताउनुभएको छैन । जे गर्नुपर्ने थियो त्यो काम गर्नुभएन ।” राष्ट्रिय हितको पक्षमा कसैले तलमाथि गर्न नहुने भन्दै अध्यक्ष ओलीले त्यसमा राष्ट्रिय सहमति बन्न आवश्यक रहेको बताए ।

“राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन् । हामी राष्ट्रिय हितको पक्षमा जोसुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौं” अध्यक्ष ओलीले भने, “एकतावद्ध भएर अगाडि बढ्न तयार छौं । राष्ट्रिय हित छाडेर सहमति हुने कुरामा एमाले तयार हुँदैन ।”

हाम्रा छिमेकीलाई मित्र भन्दछौं, छिमेकी मित्र हुन् । छिमेकी बदल्न, सार्न पनि सकिंदैन अध्यक्ष ओलीले भने, “मित्रसँग हामी बोल्न सक्दैनौं । आफ्ना मर्का राख्न सक्दैनौं । आफ्ना जायज हितहरु बोल्न सक्दैनौ भने त्यस्तो सत्ताको के अर्थ भयो ?”

“हामीले कहिल्यै भारतलाई एक पटक पनि नाकाबन्दी गरेका छौं र ? चीनलाई हामीले नाकाबन्दी गरेका छौं र ? तर भारतले त हामीलाई पटक पटक नाकाबन्दी गरेको छ” अध्यक्ष ओलीले भने, “भारत र चीन दुई मित्रराष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्