सुन प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्छ : महामन्त्री शर्मा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताएका हुन्।

‘आजको बैठकमा हामी छलफल गर्दै गर्दाखेरी मन्त्री र प्रधानमन्त्रीलाई बोलाउने कुरा गर्दैछौँ। गलत कुरा गरिरहेका छैनौँ। तर मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार यो देशका प्रत्येक सार्वभौम सांसदले राख्छन् कि राख्दैनन्,’ सांसद शर्माले भने, ‘प्रत्येक सार्वभौम सांसदले त्यो अधिकार राख्नुहुन्छ भने संसदमा त्यो अधिकारको रक्षा गर्ने सन्दर्भमा कसले बोल्ने? त्यसकारण राज्य व्यवस्था समितिको ध्यान अवरुद्ध भएको संसद खुल्नुपर्छ। त्यो संसदमा मन्त्री र प्रधानमन्त्रीहरूले पनि जवाफ दिनुपर्छ। यहाँ पनि बोलाउने अधिकार छ। नबोलाउने कुरै छैन।’

उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सुचारु हुनुपर्ने बताए।

सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने बताउँदै उनले छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बताए।

उनले विमानस्थलबाट सरकारको कमजोरीका कारण सुन तस्करी भएको भन्दै सिनामंगल चोकमा सरकारले नै सुन समातेको पनि उल्लेख गरे।