ज्येष्ठ नागरिकको प्रिय रुद्राञ्जु

0
Shares

काठमाडौँ। 

काठमाडौँको कीर्तिपुर नगरपालिका – १ मा सञ्चालित रुद्राञ्जु प्रतिष्ठानले बिहीबार वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानको छैटौँ वार्षिकोत्सवका अवसरमा संस्थाले गरेका विभिन्न गतिविधिका बारेमा जानकारी गराइएको थियो ।

‘प्रतिष्ठानमा दुई सय ४८ आजीवन सदस्य छन्, यसमा अधिकांश ज्येष्ठ नागरिक हुनुहुन्छ ।  दैनिक पचासदेखि एक सयसम्मको संख्यामा प्रतिष्ठानमा आउनुहुन्छ, भजन कीर्तनमा सहभागी हुनुहुन्छ, योगाभ्यासदेखि कथा श्रवणसम्मका कार्यक्रममा भाग लिनुहुन्छ, सिर्जना र संगीतका साथ जिन्दगी बिताउनुहन्छ’– वार्षिकोत्सव समारोहका अध्यक्ष टीकादेवी खनालले भनिन् ।

ट्याङ्लाफाँटमा रहेको प्रतिष्ठानका कार्यवाहक अध्यक्ष खनालका अनुसार हरेक दिन बिहान ११ बजेदेखि ज्येष्ठ नागरिकको आगमन हुन्छ, दिनको एकदेखि तीन बजेसम्म योगाभ्यास, कथा श्रवण हुन्छ । अहिले पुरुषोत्तम महिना भएकाले पुरुषोत्तम माहात्म्य सुनाउने काम भइरहेको छ ।

‘रुद्राञ्जु प्रतिष्ठानमा आजीवन सदस्यले दिएको प्रतिव्यक्ति १० हजार दुई सय सदस्यता शुल्क र दाताहरुबाट प्राप्त सहयोगले बहुउपयोगी तीन तले सत्संग भवन निर्माण भएको छ, सबैभन्दा माथिल्लो तलामा पुस्तकालय, बीचको तलालाई दुई खण्ड गरेर महिला तथा पुरुष ज्येष्ठ नागरिकलाई आराम गर्ने ठाउँ र भुईतलामा योगा–प्रवचन लगाइनेछ’ – कार्यवाहक अध्यक्ष खनालले भनिन् ।

 प्रा.डा रुद्रप्रसाद गौतमले दिवंगत श्रीमती अञ्जु गौतमको स्मृतिमा ज्येष्ठ नागरिकको सेवाका लागि खडा गर्नुभएको प्रतिष्ठानमा जनप्रतिनिधि, व्यापारी, विदेशमा रहेका नेपाली, समाजसेवीहरुले आर्थिक सहयोग गरेका छन् । प्रतिष्ठानले गरिब तथा मेधावी छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेर पनि सघाउँदै आएको छ । यस्तै आश्रममा आउने ज्येष्ठ नागरिकलाई दिवा खाना पनि प्रदान गर्ने गरिएको छ।

पूर्वमन्त्री तथा  प्रतिनिधिसभाका सांसद राजन केसीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतिष्ठानको छैटौं वार्षिकोत्सव र अञ्जु शर्मा गौतमको सातौं स्मृति दिवस समारोहमा केसीकै सहयोगमा सांसद विकास कोषबाट १० लाख रुपियाँ प्रतिष्ठानको वहुउपयोगी भवन निर्माणका लागि सहयोग प्राप्त भएकोमा आभार पनि प्रकट गरिएको थियो ।