सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुन सक्ने शेखर कोइरालाको आशंका

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल प्रहरीलाई बाहिर राखेर राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु आशंका उब्जिएको बताएका हुन्।

सुन समातिएको हप्ता दिनअघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको उनले बताए।

कोइरालाले प्रहरीलाई संलग्न नगराई राजश्व अनुसन्धान विभागमात्रै सक्रिय हुनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताए। उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुनको अनुसन्धान आझेलमा पर्ने दाबी गरे। भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको उनले बताए।

नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताए। उनले देशमा अराजकता र दण्डहीनता बढिरहेको बताए। कोइरालाले मानिसको हत्या गर्नेहरुलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गरे।

‘सुनकाण्डमा नेपालका बजार धेरै ठूलो छैन। यो काण्ड चल्दाचल्दै अर्को काण्ड निस्किन्छ, कुनै पनि काण्ड निस्कर्षमा पुग्दैन, किनभने माथिका मानिस सहभागी हुन्छन्। सुनकाण्डमा रोचक के छ भने सीआईबी संलग्न छैन। राजस्व अनुसन्धान मात्रै इन्भल्ब छ’, उनले भने, ‘सीआईबी इन्भल्ब नहुनु इन्ट्रेस्टिङ छ। राजस्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अण्डरमा हुन्थ्यो, केपी शर्मा ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो। शेरबहादुरजी आइसकेपछि फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन। त्यहाँ डिजी जो हुनुहुन्छ, सुनकाण्डभन्दा ७ दिन पहिला प्रधानमन्त्रीको पिए हुनुहुन्थ्यो। के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ।’