९ वटा वडामा कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन हुने



काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन २१ गतेदेखि ९ वटा वडामा कोभिड– १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ । यसका लागि आज टेकुमा रहेको स्वास्थ्य तालिम केन्द्र सरोकारवाला अधिकारीलाई बोलाएर तयारी बैठक सम्पन्न गरेको छ ।

बैठकमा महानगरपालिकाको वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नंं १४ का अध्यक्ष सुमन श्रेष्ठसहित खोप सञ्चालन हुने वडाका सदस्य, स्वास्थ्य सेवा विभागको खोप तथा परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सहभागिता थियो ।

महानगरका ९ वटा वडामध्ये वडा नं. ११, १७, ३१, १४ र ६ मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ । यसै गरी वडा नं. १२, १९, ३२ र १५ वडामा साउन २३ र २४ गते २ दिन कार्यक्रम चलाइनेछ । कार्यक्रमलाई प्रभावकारी बनाउन साउन १८ र १९ गते स्वास्थ्य स्वयमसेविकाहरूलाई अभिमुखीकरण दिइनेछ । २० गते शनिवार खोप सञ्चालन हुने वडामा घरभेट तथा माइकिङ्कका कार्यक्रम हुनेछन् ।

खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरूलाई फाइजर बायोटक विभालेन्ट खोप दिइने छ । अहिले दिन लागिएको खोपले अहिलेसम्म कोभिड भाइरसका सबै प्रकारका परिवर्तित प्रकार सबैलाई काम गर्ने अधिकारीहरूको भनाइ छ ।

बैठकमा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले, नागरिकको हित र सुरक्षा हुने खालका कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सामूहिक हितका विषयमा नागरिकलाई थाहा दिनु पर्छ । सहभागिता गराउनु पर्छ । यसका लागि वडाले संयोजन गर्नेछ ।’

बैठकमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आँकलन गरेर महानगरबासीको बचावटको उपायका लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले कोभिडको चर्चा सुनिँदैन तर यसको संक्रमण सकिएको होइन । यदि खोप नभइदिएको भए अहिले व्यक्ति व्यक्तिसँगै बसेर कुरा गर्ने अवस्था हुने थिएन ।’

बैठकमा खोप शाखाका प्रमुख डा. अभियान गौतम, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सागर शाक्य, महानगरको स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनसहितका अधिकारीले खोपले संक्रमणको जोखिमबाट बचाउँछ भन्ने कुरा आम नागरिकलाई बुझाउन जरुरी भएको धारणा राखेका थिए ।

बैठकमा मैयाँ सैजुले यसअघि वडा नं. ६ बौद्ध र वडा नं. १५ स्वयम्भूमा सञ्चालन गरिएको खोप अभियानको अनुभव साझा गर्नुभएको थियो । त्यस्तै, एफएचआई ३६० का कार्यक्रम संयोजक रेगन रञ्जितले कोभिड नियन्त्रणका लागि यसअघि गरिएका प्रयास र उपलब्धि तथा यसपटकको खोप कार्यक्रमको कार्य योजनाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

बैठकमा क्लिनिक इन्चार्जहरूले खोप कार्यक्रमसँग सम्बन्धित आफ्ना भोगाइ, समस्या र समाधानका लागि गरिएका प्रयासका बारेमा अनुभव सुनाउनुभएको थियो ।

अहिले कोभिडको संक्रमणका बारेमा मानिसहरूले खासै कुरा नगरे पनि अस्पतालहरूमा यसैकारण भएको निमोनियाका बिरामीहरू आउने गरेका र उनीहरूको उपचार आईसीयूमा राखेर गर्ने गरिएको बैठकमा बताइएको थियो । बैठकमा खोपको महत्वका विषयमा स्वास्थ्यकर्मीहरूले आआफ्ना धारणा राखेका थिए ।

कोभिड संक्रमणका दृष्टिले ५५ वर्ष उमेर समूहभन्दा माथिका ज्येष्ठ नागरिक, जनसम्पर्कमा बसेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी, गर्भवती महिला, दीर्घ रोग भएका व्यक्ति, जीवनभर औषधि खाइरहनु पर्नेलगायतका व्यक्तिलाई जोखिममा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्