भतिजी बलात्कार गर्नेलाई कडा कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा धर्ना

0
Shares

धादिङ। 

पालन पोषण गरिराखेको १७ वर्षीया नाबापलिका भतिजी बलात्कार गर्ने काकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा बुधवार पीडित पक्षले धर्ना दिएको छ ।

१७ वर्षीया भतिजी बलात्कार गरेको आरोपमा शनिवार ३६ वर्षीया काकालाई प्रहरीले गिरफ्तार गरी गत आइतबार हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

बाबुले आमाको हत्या गरेपछि जेलमा बाबु रहेको बेला काकाको संरक्षणमा ४ वर्षदेखि  बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते घरमै बलात्कार गरेको पीडितले जानकारी दिएकी थिइन्  ।

पीडितको धादिङ अस्पतालमा शनिवार  स्वास्थ्य परीक्षण गरिएको थियो  । मावली पक्षको सहयोगमा धादिङ बेसीबाट उद्धार गरिएपछि पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्  थ । पीडितको बयान र उजुरीको आधारमा आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेकोबेला मावली पक्ष र घर रहेको क्षेत्रका नागरिकहरुले जिल्ला प्रहरी कार्यालय अघि धर्ना दिएका हुन् ।

आरोपितलाई हदैसम्मको कारबाही हुनु पर्ने, अनुसन्धान राम्रोसँग गर्नु पर्ने लगायतका माग राखी धर्ना दिइएको वडा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरि विकले जानकारी दिए ।

धर्नामा आएकाहरुलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक गौतम मिश्रले अनुसन्धान भइरहेको र सरकारी वकिल मार्फत जिल्ला अदालतमा मुद्दा पेस गरिने बताए । उनका अनुसार कुनैपनि दबाबमा नपरी  पीडितको पक्षमा न्याय हुनेगरिअनुसन्धान भइरहेको छ।