तुल्सीलाल अमात्यको स्मृतिमा वृक्षारोपण

0
Shares

काभ्रे। 

कम्युनिष्ट नेता तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसको अवसर पारेर बनेपामा वृक्षारोपण गरिएको छ । बनेपा नगरपालिकाको १६ सय सिँढीमा विभिन्न प्रजातिका एक सय भन्दा धेरै बिरुवाहरू रोपण गरिएको हो ।

‘सामाजिक, राजनीतिक चेतनासँगै व्यक्तिको जीवनलाई सहज र सरल बनाउन वातावरण स्वच्छ हुन आवश्यक छ’–आयोजक नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रेका अध्यक्ष तेज नेपालीले भने–‘जातीय विभेद अन्त्य गर्न विभिन्न अभियानमा वृक्षारोपण सहयोगी बन्न सक्छ ।’ व्यक्तिलाई राजनीतिक, सामाजिक, आर्थिक चेतनाका लागि यस्ता अभियान महत्त्वपूर्ण हुने अध्यक्ष नेपालीले बताए ।

वृक्षारोपण कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष मनोहर विक पौडेलले हरेक हिसाबले सक्षम बन्नु पर्ने बताए । ‘हरेक नेपाली सक्षम हुनु पर्छ । त्यसमा पनि सदियौँदेखि पछि पारिएका दलित समुदायका नागरिकहरु सक्षम हुनुपर्छ’–अध्यक्ष मनोहर विकले भने–‘सिप, ज्ञान र चेतना हरेक ब्यक्तिका लागि आवश्यक छ । यसका लागि अध्ययन गर्ने र गराउने, सिप सिक्ने र आर्थिक रुपले सम्पन्न बन्ने, राजनीतिक रुपमा सहभागिता जनाउन राजनीतिक चेतनाका लागि सामाजिक कार्यमा समेत सक्रिय बन्नु पर्छ ।’ देशका विभिन्न स्थानमा दलितकै नाममा भएका विभेदहरुको अन्त्यका लागि सरकारसँग माग गर्दै अध्यक्ष मनोहर विकले दलित समुदायका नागरिकहरुलाई राज्यले नै विभेद गरेको तर्फ सचेत गराए । राज्यका निकायहरुले अधिकारका नाममा होस वा समानुपातिक वितरणमा विभेद गरेको उनले बताए।

वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव राजन भुर्तेलले उत्पीडनमा परेको समुदायलाई माथि उठाउन हरेक क्षेत्रमा समानुपातिक रुपले अधिकारको प्रयोग गरिनु पर्ने बताए । ‘नेकपा एमालेले उत्पीडित जातीय मुक्ति समाजलाई हरेक हिसाबले अघि बढ्न वातावरण तयार गरेको छ’–सचिव भुर्तेलले भने–‘पार्टीका जनवर्गिय संगठन मध्ये सक्रिय सङ्गठनका रुपमा नेपाल उत्पीडित जातीय मुक्ति समाज रहेको छ । जसले विद्यार्थी देखि प्राध्यापकसम्मलाई सचेतिकरण गराएको छ । बहस चलाएको छ । राजनीतिक र सामाजिक चेतनाका लागि अभियान शुरु गरेको छ । गाउँ गाउँ कार्यक्रम मार्फत सचेतना अभियान र संगठित गरेको छ ।’

सङ्गठनका केन्द्रीय सचिव नरेश विक, केन्द्रीय सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्लाका पदाधिकारीहरू तथा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको वृक्षारोपणमा सहभागिता रहेको थियो ।