अलपत्र छाडिएको पुलको रडमा खिया, सम्बन्धित निकाय मौन



रौतहट । 

दश महिनाअघि बाटोको दायाँ बायाँ ठडयाएको फलामे रड खिया लाग्दा समेत रेल गुडने पुल निर्माण नहुँदा स्थानीय चिन्तित बनेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बेतौनामा रेल्वे ट्रयाकबेड निर्माण कार्य अन्तर्गत ३( तीन )नम्बर प्याकेजमा पर्ने सो ठेक्का दश महिना अघि निर्माण थालिएको भएता पनि रेल गुडने पुलको  तल्लो भागमा ढलान गरेर छाडिएपछि माथिल्लो भागको रड खिया लागेर अस्थिपञ्जर बनिसकेको छ ।

 ९७ मिटर लम्बाई साढे ११ मिटर चौडाइ, ५ मिटर उचाइको सो आरोबी ( पुल ) को पिसिसी, रयाप, डन्डीको काम गरेर दश महिनादेखि छाडिएपछि रडको गुणस्तरमा समेत ह्रास (कमजोर) आएको जानकारहरु बताउँछन् । नेपाली काँग्रेस बाग्मती प्रदेशका संसदीय  दलका नेता एवं  बाग्मती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका निर्माण व्यवसायी बहादुर सिह लामा तामाङ्गको जेभि रहेको निर्माण कम्पनी रौताह÷हिम्डुङ्ग एण्ड थोकर÷कन्काईले पुल अलपत्र पारेको हो ।

०७९ भदौ १२ गते नै अलपत्र पारिएको सो पुलको ४ करोड ४९ लाखको बिल रेल, मेट्रोरेल तथा मोनोरेल विकास योजना कार्यालय, सर्लाही लालबन्दी  पेस गरी निर्माण कम्पनीले भुक्तानी समेत लिएको स्रोतले बतायो । लामो समयदेखि घाम पानीले खिया लागेको रडको तापमापन कमजोर हुने भएकाले प्राबिधिकरुपमा समेत पुल कमजोर हुने एक प्राविधिक बताउँछन्  । रेलमार्गको विकासबाट देशको आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ निर्माण थालिएको भएपनि बहालबाला  निर्माण कम्पनीबाट हुने कार्य कमजोर हुनु दु:खद रहेको स्थानीय शम्भु थापाले बताए । आर्थिक वर्ष ०७५/७६ मा ठेक्का शुरुभएपनि निर्माण कम्पनीले जग्गाको मुअब्जा, ऐलानी जग्गाको समस्या, बिजुलीको पोलको कारण देखाउँदै पटक पटक म्याद थप गरेको कार्यालयले जनाएको छ ।

पटक पटक म्याद थपेको सो ठेक्काको समयमै रेल निर्माणको कार्य सम्पन्न नहुँदा  गएको आर्थिक वर्षमा पुनः म्याद सकिएको छ । दश महिना देखि निर्माण हुन नसकेको सो ठेक्काको म्याद थप गर्न निर्माण कम्पनी पुन प्रयासमा रहेको छ । रेल, मेट्रोरेल तथा मोनोरेल विकास योजना कार्यालय, सर्लाही लालबन्दिका ईन्जिनियर सुरेस प्रसाद साहले लामो समयदेखि निर्माण कम्पनी सम्पर्क विहीन भएकाले पुल अलपत्र परेको बताए । उनले  निर्माण कम्पनीको जिम्मेवारी लिएको शिवहरि घिमिरे लाई सम्पर्कमा आउन जानकारी गराएको र अब नआएमा लिखित पत्रचार गर्ने बताए । घिमिरे निर्माण व्यवसायी महासंघका उपमहासचिव समेत रहेका छन् ।

रेल्वे ट्रयाकबेड निर्माण कार्य अन्तर्गत ठेक्का नम्बर DORW/३३७३०७ MMER/RTB ०३/०७५/०७६

प्रतिक्रिया दिनुहोस्