जाम्बियाको ऐतिहासिक जित



लन्डन, (एजेन्सी) । जाम्बियाले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ ।

न्यूजिल्यान्डको वाइकाटोस्थित एफएमजी रंगशालामा सोमबार सम्पन्न खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ गोलअन्तरले पराजित गरेको हो । महिला फिफा विश्वकपको इतिहासमा जाम्बियाको यो पहिलो जित हो । जितसँगै तीन खेलमा तीन अंक जोडेको जाम्बिया समूह ‘सी’ को तेस्रो स्थानमा रह्यो । तीनै खेलमा पराजित ब्यहोरेको कोस्टारिका भने अकंविहिन रहँदै बाहिरियो । यसअघि जम्बिया र कोस्टारिकाले जापान र स्पेनसँग पराजय ब्यहोरेका थिए । जाम्बियालाई जित दिलाउन लुसोमो एमविम्बा, बारब्रा बान्डा, रचेल कुन्दनन्जीले समान एक गोल गरे । कोस्टारिकाका लागि डाफनी मोङ्गेले एक गोल फर्काइन् ।

खेलको तेस्रो मिनेटमै एमम्बिाको गोलमार्फत जाम्बियाले अग्रता लिएको थियो । ३१औं मिनेटमा बान्डाले टोलीको अग्रता दोब्बर बनाइन् । ३७औं मिनेटमा मोङ्गेले गोल गर्दै कोस्टारिकालाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । इन्जुरी समयमा कुन्दन्नजीले गोल गर्दै जाम्बियालाई ३–१ को जित दिलाइन् । प्रतियोगिता अन्तर्गत सोमबार नै सम्पन्न अर्को खेलमा जापानले स्पेनविरुद्ध ४–० को सहज जित निकाल्यो । उपाधि दावेदार स्पेनमाथि सानदार जित निकाल्दै एसियाली राष्ट्र जापान समूह ’सी’ को विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । हारका बावजुद स्पेन पनि समूहको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । न्युजिल्यान्डस्थित वेलिङ्टन रिजनल स्टेडियममा सोमबार भएको खेलमा स्पेनले ७७ प्रतिशत बल पोसेसन राखेपनि लगातार गोल ब्यहोरेको थियो ।

जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई तथा रिको युकी र मीना तानाकाले समान एक गोल गरिन् । पहिलो हाफमा तीन गोल गरेको जापानले दोस्रो हाफमा एक गोल थपेको थियो । खेलको १२औं मिनेटमा हिनाता मियाजावाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाइन् । उनले जुन इन्डोको पासमा गोल गर्न सफल भएकी थिइन् । २९औं मिनेटमा रिकोले गोल गर्दै जापानको अग्रता दोब्बर पारिन् । उनले मियााजावाको पासमा गोल गर्न सफल भइन् । ४०औं मिनेटमा हिनाताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि जापन पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा पुग्यो । सुरुको तीनै गोल नै काउन्टर अट्याकमा थियो ।

खेलको ८२औं मिनेटमा मीना तानाकाले गोल गर्दै जापानलाई सानदार जित दिलाइन् । उनले मियावी मोरियाको पासमा गोल गर्न सफल भइन् । यस जितले अपराजित रहेको जापानले तीन खेलबाट ९ अंक बटुल्यो । जापानसँग पराजित स्पेन ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । यो समूहमा जाम्वियाले तीन तथा कोस्टारिका अंकविहीन बनेर प्रतियोगिताबाट बाहिरियो । अब जापानले प्रि–क्वाटरफाइनलमा समूह ‘बी’ को उपविजेता नर्वेसँग तथा स्पेनले समूह ‘ए’ को विजेता स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

अष्ट्रेलिया र नाइजेरिया प्रि–क्वाटरफाइनलमा

त्यसैगरी सह–आयोजक अष्ट्रेलिया समूह विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा क्यानडालाई ४–० को भारी गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया समूह विजेता बनेर अन्तिम १६ मा पुग्न सफल भएको हो । अष्ट्रेलियासँगको हार र अर्काे खेलमा नाइजेरिया र आयरल्यान्डले गोलरहित बराबरी खेलेपछि क्यानडा भने समुह चरणबाटै बाहिरिएको छ । क्यानडालाई नकआउट चरण पुग्न बराबरी नै पर्याप्त हुने भएपनि पराजित हुँदा बाहिरिन पुग्यो ।

अष्ट्रेलियाको मेलवर्नस्थित मेलवर्न रेक्टेङगुलर स्टेडियममा सोमबार भएको खेलमा अष्ट्रेलियाको जितमा हेली रासोले दुई तथा मारी फोलेर र स्टेफ क्याट्लेले समान एक गोल गरिन् । समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा अष्ट्रेलियाले सानदार प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । खेलको सुरुवातदेखि नै आक्रमक खेल खेलेको अष्ट्रेलियाले नवौं मिनेटमा रासोको गोलबाट अग्रता लिन सफल भयो । खेलको ३४औं मिनेटमा मारी फोलेरले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा अष्ट्रेलिया अग्रता लिनबाट चुक्यो ।

खेलको ३९औं मिनेटमा हेली रासोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् । ५८औं मिनेटमा मारी फोलेरले गोल गर्दै अष्ट्रेलियालाई ३–० ले अघि बढाइन् । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा स्टेफ क्याट्लेले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियालाई ४–० का सानदार जित दिलाइन् । पेनाल्टी बक्समा जेसी फ्लेमिङले काटरिना गोरीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै अष्ट्रेलियालाई पेनाल्टी प्रदान गर्दा स्टेफ चुकिनन् । यस जितसँगै अष्ट्रेलिया समुह ‘बी’ मा तीन खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित क्यानडा चार अंक जोडेर तेस्रो स्थानमा रह्यो । नाइजेरिया पांच अंक जोडेर उपविजेता हुँदै अघिल्लो चरण प्रवेश गर्न सफल हुँदा आयरल्यान्डले एक अंक बटुल्यो ।

यही समूहको अर्काे खेलमा आयरल्यान्ड र नाइजेरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । आयरल्यान्डसँग गोलरहित बराबरी खेल्दै नाइजेरियाले समूह उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनायो । ब्रिसवन स्टेडियम ब्रिसवनमा सोमबार भएको खेलमा आयरल्यान्डले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो । नाइजेरियाले तीन खेलमा पाँच अंक जोड्यो । आयरल्यान्ड समान खेलबाट एक अंकका साथ पुछारमा रह्यो । यसअघि क्यानडासँग बराबरी खेलेको नाइजेरियाले अस्ट्रेलियालाई हराएको थियो । यसैगरी आयरल्यान्ड अस्ट्रेलिया र क्यानडासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्