सिन्धुलीको सेल्फीडाँडामा बगमबेली फुलाउँदै ‘सकुल’ 

0
Shares

काभ्रे।

समाजसेवा तथा साहित्यमा रुचि राख्ने नेपाली सेनाबाट अवकाश प्राप्त बनेपा ११ निवासी सकुल थापाले काभ्रेबाट १ सय १० किमी टाढा सिन्धुलीको सिन्धुली गढी नजिकै सेल्फीडाँडालाई थप आकर्षक बनाउन फुलैफुलको सेल्फी डाँडा बनाउने उद्देश्यले पुष्प रोपण गर्नु भएको छ । थापाकै परिकल्पना, व्यवस्थापन तथा आर्थिक सहयोगमा बिपी राजमार्गको सिन्धुली स्थित कमलामाई नगरपालिका २ सेल्फीडाँडामा २ सय ८० वटा पुष्प रोपण गरिएको हो ।

‘लामो समयसम्म फुलिरहने बेगमबेली, एन्जेलिया र असारे फुलका २ सय ८० वटा बिरुवा रोपण गरिएको छ’–बनेपा निवासी समाजसेवी सकुल थापाले भन्नुभयो–‘बिपी राजमार्ग हुँदै दैनिक हजारौँ सवारी साधन ओहोर दोहोर गर्छन । उक्त स्थानमा एक छिन बसेर थकाई मार्दा फुलबाट प्राप्त हुने आनन्दले लामो यात्राको थकान विर्सिन तथा ब्यक्तिका तनावहरु मुक्त गराउन सेल्फीडाँडामा फुलेका फूलहरूले मद्दत पु¥याउने छ ।’ सेल्फी डाँडालाई बगैँचाका रुपमा विकास गरी नमूना बनाउने र अन्यत्र विस्तार गर्ने सकुल थापाले बताउनुभयो ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले नगरपालिका र सिन्धुली जिल्लाले गर्नु पर्ने पुष्प रोपण कार्य काभ्रेपलाञ्चोक जिल्लाबाट सिन्धुलीसम्म पुगेर आयोजना गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । ‘यो नमूना र उदाहरण बन्यो, अब हामी बिपी राजमार्गका विभिन्न स्थानमा सडकको दायाँबायाँ विभिन्न जात र रङका पुष्पका बिरुवा रोपण गर्नेछौँ’–नगर प्रमुख पोखरेलले भन्नुभयो–‘सुन्दर स्थानलाई झनै सुन्दर र मनमोहक बनाउने अभियानमा काभ्रेपलाञ्चोक जिल्लाबाट सकुल थापाको परिकल्पना तथा व्यवस्थापनबाट गरिएको पुष्प रोपण पछिको रेखदेख र हेरचाह नगरपालिकाले गर्नेछ ।’

मोडर्न नर्सरी बनेपाका धुर्व दाहाल र छिम्केस्वरी नर्सरी पाँचखालका प्रताप लामाले पुष्पको बिरुवा सहयोग गरेका थिए । पुष्प बृक्षारोपणमा डिभिजन बन कार्यालय सिन्धुलीको प्राविधिक सहयोग रहेको छ । कुन मौसम अथार्त माटोमा कस्तो पुस्पको बिरुवा लगाउने र त्यसलाई नियमित हेरचाह गर्ने सन्दर्भमा वन डिभिजन कार्यालय सिन्धुलीले प्राविधिक सहयोग गरेको सहायक वन अधिकृत कुसुम नेपालले बताउनुभयो । कमलामाई नगरपालिकाको वातावरण शाखाका प्रमुख सागर ढकाल, डिभिजन बन कार्यालय सिन्धुलीका पवित्रा तिमल्सिना र मुना मगरले पुष्प रोपण र त्यसले वातावरणमा पार्ने प्रभावसँगै नियमित रेखदेख र हेरचाहमा ध्यान दिनु पर्ने बताउनु भयो ।

सेल्फी तथा फोटो खिच्नको लागी भिड लाग्ने गरेको पर्यटकीय क्षेत्र सेल्फीडाडामा पुष्पको बिरुवा हुर्किए पछि प्राकृतिक सौन्दर्यतामा थप सुन्दरता ल्याउने सहभागीहरूले बताए । कार्यक्रममा रोशी गाउँपालिका काभ्रेका अध्यक्ष दिनेश लामाले बिपी राजमार्गका विभिन्न स्थानमा पुष्प रोपण गरी सौन्दर्यीकरण गर्दा सडकबाट ओहोरदोहोर गर्ने यात्रुहरुलाई आनन्द महसुस हुने बताउनु भयो । स्थानीय सरकार र विभिन्न संघ संस्थाको पहलमा हुने यस्ता कार्यहरु दिगो हुने उहाँले बताउनु भयो । कार्यक्रममा साहित्यकार हरि मञ्जुश्रीले सिन्धुलीगढीको महत्त्व बताउँदै ऐतिहासिक स्थलमा भएको पुष्प रोपण कार्यक्रमले थप सौन्दर्यीकरण सँगै पर्यटकहरूका लागि थप आकर्षक बन्न सक्ने बताउनु भयो । पुष्प रोपण कार्यक्रमका लागि बनेपाका ५५ जनाको टोली सिन्धुली पुगेको थियो । जसमा पूर्व मेजर नरध्वज थापा, शिक्षासेवी रमेश पौडेल, मिरा पौडेल, भद्रकाली युवा क्लवका अध्यक्ष मिलन खड्का क्षेत्री, वडा अध्यक्ष इन्द्र बहादुर वाईवा, साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिहरू तथा सामाजिक ब्यक्तिहरुको सहभागिता रहेको थियो ।