२१ जाति अब यल नेवाः समाजमा

188
Shares

ललितपुर।

नेवाः समुदायका २१ जाति अब एउटै संरचना अटाउने गरी यल नेवाः समाजको विधिवत संस्थापन भएको छ।
विशेषतः पाटनलाई मुख्य कार्यक्षेत्र बनाई क्रियाशील ती संगठनहरुको संस्थागत प्रतिनिधिमूलक संगठनको रुपमा समाजको स्थापना गरिएको हो।समाजमा कर्माचार्य, कपाली, खड्गी, चित्रकार, ज्यापू, जोशी, तण्डुकार, ताम्रकार, द्योला, नकर्मी, नापित, वाद्यकार, बाराही, बौद्ध विहार संघ, रजक समाज, रञ्जितकार समाज, राजोपाध्याय , स्यःस्यः,सिकःमी र शिल्पकार समाज आबद्ध रहेको छ।

समाजको सम्पर्क कार्यालय हाललाई ललितपुर महानगरपालिका – १९ स्थित इखालखुमा राखिएको छ।जिल्ला प्रशासन कार्यालय ललितपुरबाट संस्था दर्ताको प्रमाण ग्रहण गरेपछि संस्थाले कार्यसञ्चालन गरिसकेको छ।

समाजको तदर्थ समितिको अध्यक्षमा ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकार, उपाध्यक्षमा स्यःस्यः समाजका सचिव न्हुच्छेबहादुर नेम्कुल, सचिवमा राजोपाध्याय समाजका अध्यक्ष सञ्जयशर्मा राजोपाध्याय, कोषाध्यक्षमा तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकार, सहसचिवमा सिकर्मी समाजका अध्यक्ष विष्णुलाल सिकर्मी रहनुभएको छ । कार्यकारिणी सदस्यहरुमा जोशी समाजका अध्यक्ष दिपेशमान जोशी, शिल्पकार समाजका अध्यक्ष्ँ धर्मरत्न शिल्पकार, नापित समाजका अध्यक्ष कृष्णमाया नापित र रञ्जित समाजका अध्यक्ष तर्फबाट समुन्द्रमान रञ्जितकार रहनुभएको छ ।

आफ्नो जातिभित्र चल्दै आएको संस्कार, रितिरिवाजको संरक्षणका साथै नेवाः समुदायको हकहित, नेपाल भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न अलग÷अलग रुपमा कार्यरत ती संगठनले एकिकृत रुपमा समन्वय गर्दै अघि बढ्न समाज स्थापना गरिएको अध्यक्ष विनोद ताम्रकारले बताउनुभयो।
सरकारले २०७५ सालमा प्रस्तावित गरेको गुठी विधेयक विरुद्धको आन्दोलन, २०७७ साल भदौं १८ गते रातो मच्छिन्द्रनाथ पुल्चोकबाट तान्ने क्रममा भएको झडपको घटनापछि ती संगठनलाई आआफ्नो जातीय संगठनको घेराभन्दा माथि उठेर सोच्नुपर्ने, संगै बस्नुपर्ने र मिलेर काम गर्नुपर्ने अवस्था उत्पन्न गराईदिएको अध्यक्ष ताम्रकारले बताउनुभयो।

‘विभिन्न घटनाक्रमले दिएको सन्देशलाई नबुझन्े हो भने लक्ष्य, हकहितका एजेण्डालाई सम्बोधन गराउन क्रमशः पछि पर्दै जाने स्थिति देखिएपछि सबै जाति समाज अटाउने यल नेवाः समाज गठन गर्ने संकल्प गरेका हौं ।’ समाजका सहसचिव विष्णुलाल सिकर्मीले भन्नुभयो ‘संस्था दर्ता गर्ने निर्णय, छलफल, विधान तयार गर्ने र प्रशासनमा दर्ता गराउँदा सम्म दुई, तीन वर्ष लाग्यो । ’

विभिन्न जातीय समाजबीच पारस्परिक सद्भाव र आपसी साझेदारी गरी समन्नत बनाउने समाजको मुख्य प्र्रस्थापना रहेको छ।समाजको उद्देश्यका रुपमा ललितपुरका मूर्त र अमूर्त संस्कृति, सम्पदाको जर्गेना गर्ने,नेपाल भाषाको प्रर्वद्धन गर्ने मुख्य लक्ष्यहरु राखिएको छ ।