वीर अस्पतालका निर्देशकलाई निलम्बन गर्न माग



काठमाडौँ। 

वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेल राजनैतिक पार्टीको  सङ्गठित सदस्य र पार्टी सम्बद्ध जनसंगठनमा महासचिव पदमा क्रियाशील रहेकोले निर्देशक पदबाट तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ ।

वीरका कर्मचारीले २ महिना अघि जेठ १३ गते प्रधानमन्त्री, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्य सचिव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सतकता केन्द्र, स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयमा पत्र दर्ता गरेको देखिन्छ ।

डा. पौडेल २०७९।११।५ मा वीर अस्पतालको निर्देशक पदमा नियुक्त भएका हुन्  । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि वि रा प ) वीर अस्पतालको ऐन २०६३ को दफा २० तथा चि वि रा प्र बैठक सञ्चालन, पदाधिकारीको काम कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधा सम्बन्धी नियमावली २०६४ को नियम ११ मा वीर अस्पतालको प्रशासकीय प्रमुखको रुपमा निर्देशक रहने व्यवस्था छ ।

वीर अस्पताल को निर्देशक प्रतिष्ठानमा कम्तीमा सह प्राध्यापक वा सो सरह पदमा कार्यरत चिकित्सक मध्यबाट नियुक्त हुने व्यवस्था छ । हाल वीर अस्पतालका निर्देशक  डा सन्तोष पौडेल ( कर्मचारी सङ्केत न १९३४०१))  सह प्राध्यापक तथा वरिष्ठ  कन्सलटेन्ट  अर्थोपेडिक सर्जन दशौँ  तहमा नेपाल सरकार स्वास्थ्य सेवाका कर्मचारी हुन्  ।

उनी नेकपा एमालेको सङ्गठित सदस्य तथा जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको  महासचिव पदमा कार्यरत छन्  । सो जनसङ्गठन नेकपा एमाले को विधान संशोधन सहित २०४९ को धारा ९१ अनुसार गठन भएको जनसंगठन हो ।  विधानको धारा ९१ मा भनिएको छ जनसंङ्गठनले पार्टीको घोषित वैचारिक तथा नीतिगत मार्गदर्शनमा परिचालित हुने छ र उनीहरूले पार्टीको नीति अनुरुप परिचालित हुने छ ।  जसमा भनिएको छ सो कारणले गर्दा निज निर्देशक डा पौडेल वीर अस्पतालको निर्देशक पदमा बस्न अयोग्य भएकाले तत्काल निलम्बन गरी कारबाही गरियोस् ।

निर्वाचन आयोगको राजनीतिक दल सम्बन्धी ऐन २०७३ दफा १४ को( ग) , नेकपा एमाले जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ अध्याय तीन र चार, नेपाल स्वास्थ्य सेवा ऐन २०५३ संशोधन सहितको दफा ५५ ( कुनै राजनैनिक संगठन वा दलमा  भाग लिन  हुदैन भन्ने उल्लेखछ) , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दफा ११, निजामती सेवा नियमावली २०५०, निजामती सेवाका  कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५ नियम १२, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५, श्रम ऐन,नियमावली  विपरीत  १० औँ  तहको र कार्यलय प्रमुख डा पौडेल राजनीतिक दलको सगठित सदस्य र जनसंगठनमा आबद्ध रहेकोले निजलाई  आवश्यक छानबिन गरी  कारबाही गर्न वीर अस्पतालका कर्मचारीले माग गरेका छन् । निजको सम्बन्धमा आवद्धता देखिने प्रमाण प्रशस्त छन् भनिएको छ ।

कर्मचारीको यस्तो उजुरीपछि निर्वाचन आयोगले एमाले पार्टी, स्वास्थ्य मन्त्रालयमा डा.पौडेलको बारेमा जानकारी मागेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको वीरका कर्मचारीहरुको दाबी छ । वीर अस्पतालले डा.पौडेल १० औँ तहका अर्थोपेडिक सर्जन हुन हाल निर्देशकको रुपमा कार्यरत रहेको भन्ने जवाफ पठाएको छ । स्वास्थ्य मन्त्रालयको जवाफ गोप्यनैछ, एमालेले अस्पष्ट जवाफ पठाएको छ ।

वीर अस्पताल उजुरीकर्ता कर्मचारीले उहाँ एमालेको सङ्गठित सदस्य रहेको प्रमाण जो एमालेको आधिकारिक वेभसाईटमा सङ्गठित सदस्य खोज्दा उहाँको नाम र फोटो सहितको थप प्रमाण पुन निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वास्थ्य मन्त्रालय समक्ष पेस गरेको वीर अस्पतालका कर्मचारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्