सुन काण्डमा ठूलो  मालिक देख्ने बित्तिकै सरकार अर्को फाइल खोल्न लाग्ने हो कि शंका छ : रवि लामिछाने



भक्तपुर ।

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन काण्डको जरैसम्म पुगेर अनुसन्धान गर्न माग गरेका छन् ।
आज पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा बोल्दै सभापति लामिछानेले सरकारले जरैसम्म पुगेर काम गरे रास्वपाले विरोधका लागि विरोध नगर्ने तर, अनियमितताका घटनामा हाँगाबिँगा मात्र काटेर बस्न नहुने बताए ।

लामिछानेले सुन प्रकरणमा ठूलो सेटिङ भएको आरोप लगाउँदै सेटिङ विना यत्रो सुन विमानस्थलबाट बाहिर आउनै नसक्ने दाबी गरे ।
सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई किन सिनामंगलको बाटोमै समाइयो ? सभापति लामिछानेले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न उठाएको बताए ।

बिच बाटोसम्मको खबर पाउने र भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ? सूचना दिने मान्छेले पनि बाटोमा ट्याक्सी आउँछ मात्र भनेन होला,हामी मालिक हेर्न कुरेर बसेका छौँ –उनले भने ।

सभापति लामिछानेले भने, सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ,भारी बोकेको ट्याक्सीले मालिकसम्म लान्थ्यो होला,गन्तव्यमा पुग्थ्यो होला ।
जुन ढंगले सुन आएको छ त्यो हेर्दा मालिक सानोतिनो नभएको भन्दै लामिछानेले धेरै ठुलो मालिक देख्ने बित्तिकै सरकार अर्को फाईले खोल्न लाग्ने होकि मलाई शंका लागेको छ भने  ।

उनले कुनै पनि फाइलका दुई चार पाना मात्र होइन पछिल्ला पानासम्म सबै खोल्नुपर्नेमा सरकारले त्यसो नगरेकोमा खबरदारी गरे ।
भ्रष्टाचार विरुद्ध रास्वपा संसद र जनमानसमा खरो रुपमा उपस्थित हुने बताउँदै उनले यो सेटिङ जनताले समेत थाहा पाइसकेको दाबी गरे । यस्ता घटना आउँछन् अनि कर्मचारीको सरुवा किन हुन्छ भन्दै उनले प्रश्न गरे ।सरुवा कारबाही हो कि पुरस्कार हो? उनीहरुलाई तुरुन्त बर्खास्त गर्ने हो कि सरुवा उनको प्रश्न थियो ।
यो प्रकरणमा भरियालाई मात्र मुद्दा दायर गर्ने अनि केही कर्मचारीहरु सरुवा गरेर यसलाई टाल्न मिल्दैन लामिछानेले भने ।

लमिछानेले सरकारको काम कारवाही ठूला मालिक देखेपछि त्यसलाई छाडेर अर्को फाइल खोल्नेतिर लागेकाले आफूहरुले खबरदारी गरेको बताए  ।
‘सुन काण्डको जरो कहाँ छ ?आरोपितको नाम आइरहेको छ तर सरकार जरोमा जाँदैन किन ,’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले शुरूआत ग¥यो, अड्कियो । ललिता निवासमा पनि जरोसम्म पुगेन । सुनकाण्डमा आरोपीको नाम आउँछ, तर जरोमा जाँदैन कि भन्ने देखिइरहेको छ,’ लामिछानेले भने ‘पर्याप्त अनुसन्धान गरेर टुंगोमा पु¥याउनु पर्छ ।’

सुनकाण्ड गम्भीर विषय भएको भन्दै उनले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको बताए ।

भ्रष्टाचार विरोधी सरकारको कदमलाई आफूहरूले सहयोग गरे पनि फाइदाका रूपमा नलिन उनले आग्रह गरे ।कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पु¥याउने साहस लिए सरकारलाई साथ दिने तर फाइल खोलेझैँ गर्ने हो भने सरकारको दिन गन्ती सुरु हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्