राष्ट्रपति पौडेलद्वारा नेपाल ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

0
Shares

काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।शुक्रबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको जानकारी दिए ।

बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । यसअघि असार ३१ गते आइतबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको थियो ।