हेपाटाइटिसबाट कसरी बच्ने ?



चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा शर्माको सुझाव छ ।

उहाँ भन्नहुन्छ, “हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हँुदै जान्छ ।” उहाँका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ । हेपाटाइटिसको उपचार “आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ”, डा केसी भन्नुहुन्छ, “बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ ।

त्यसले गर्दा अरु अप्ठ्यारो आउन सक्छ ।” डा केसी जनचेतनाको अभावमा बिरामीले जथाभावी औषधिको सेवन गर्न नहुने बताउनुहुन्छ । उहाँका अनुसार हेपाटाइटिस ए र इ हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार सेवन गरेको केही समयमा आफैँ निको हुन्छ । उहाँका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी सङ्क्रमण हुने गर्छ । हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उहाँ भन्नुहुन्छ, “औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई रु ७० हजारसम्म उपचार खर्च लाग्न सक्छ ।”

सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ । डा शर्मा भन्नुहुन्छ, “हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सके सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ ।” हेपाटाइटिस ए र इ स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ ।

चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यसकारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उहाँको सुझाव छ । नेपालमा हेपाटाइटिसको समस्या सरकारसँग यकिन तथ्याङ्क नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र इ बढी देखिन्छ । प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ ।

“हेपाटाइटिस बी कुनै कम र कुनैमा धेरै छ । मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ”, डा केसी भन्नुहुन्छ, “हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिएको छ ।” एचआइभी÷एड्सलाई महत्त्व दिएजस्तै सरकारले हेपाटाइटिसलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्