पोखरा क्रिकेट मैदानमा भिआईपी ब्लक बन्दै

0
Shares

पोखरा । पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भिआईपी ब्लकका लाग ठेक्का सम्झौता गरेको छ । राखेपले जेठ मसान्तमा अटुट इन्जिनियरिङ प्रा.लि.सँग ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार प्रालिले छ महिनाभित्रमा पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण गर्ने छ ।

कम्पनीका प्रतिनिधि सुवास कँडेलले पोखरा क्रिकेट मैदानको अवलोकन गरेका छन् । पोखरास्थित क्रिकेट मैदानका लागि वर्षेनी बजेट विनियोजन भएपनि नेपाल क्रिकेट संघ (क्यान) ले कुनै काम गरेको थिएन । चारवर्षदेखी क्रिकेट मैदानका लागि बजेट परेपनि क्यानको वेइमानीले फ्रिज हुँदै आएको थियो ।

पोखरा रंगशालामा पुर्वाधार बन्न लागेपनि के पूर्वाधार बन्न लागेको भन्ने जानकार आफुहरुलाई नरहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देलले जानकारी दिनुभयो ।

‘यो टेन्डर भयो नक्सा कस्तो छ भन्ने पनि थाहा छैन के मा सम्झौता भयो भन्ने पनि थाहा छैन् । हामीले ठेकेदार कम्पनीलाई त भेटेका थियो । उहाँले पनि ठ्याक्कै यहि हो भन्न सक्नुभएन’ उहाँले भन्नुभयो, ‘चार वर्ष लगातार भयो पोखराको बजेट फ्रिज भएको । पोहोर साल पनि दुई करोड फ्रिज भयो । यो वर्ष रकमै परे । अघिल्लो आर्थिक वर्षमा सम्झौता भएकाले काम गर्न लागेको हो ।’

सिग्देलका अनुसार क्रिकेट मैदानको गुरु योजना अनुसार काम हुन लागेको छ । निर्माण कम्पनीसँग बुझ्दा एक एक अर्ब ७६ करोड आसपासमा क्रिकेट रंगशाला निर्माण गर्ने गुरु योजना रहेको सिग्देलले बताउनुभयो ।

‘त्यो मास्टरप्लान अनुसार बनाउन लागेको छ । गुरु योजनाअनुसार करिब एक अर्ब ७६ करोडमा बनाउने भन्ने रहेछ । त्यत्रो योजनामा डेढ करोडले के बन्ला’ उहाँले भन्नुभयो । उहाँका अनुसार आइसिसि मान्यता प्राप्त पोखरा क्रिकेट मैदान बनाउनुपर्छ । प्लेयर बक्स, सुविधा सम्पनन शौचालय, डाइनिङ हल, भिआईपी कक्ष, मिडिया सेन्टर, एम्पायर कक्ष भयो भने बाकी आउटफिल र भित्रका कामहरु सबै गरौ भनेर निवेदन दिएको उहाँले भन्नुभयो । दुई करोडमा उक्त काम गर्ने योजना आफुहरुले बनाएको दिएको तर टेन्डर काठमाडौंबाटै निकालेको बताउनुभयो ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसहित केन्द्रीय सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजु तथा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्देलको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गर्नुभएको थियो । भेटको क्रममा क्यानका अध्यक्ष चन्दले पोखरालाई अन्तरराष्ट्रिय क्रिकेट भेन्यु बनाउनेमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

अध्यक्ष चन्दले सन २०२७ मा नेपाल÷बंगलादेशसँगको संयुक्त आयोजनामा हुने यु–१९ महिला विश्वकप अन्तरगत नेपालमा हुने खेलको केहि खेल काठमाडौं बारिह ल्याउने तयारी भएको र त्यो पोखरा ल्याउन चाहेको आश्यक व्यक्त गर्नुभयो । ‘नेपाल र बंगलादेशले यु–१९ महिला विश्वकप आयोजना गर्दैछ। १६ देशको सहभागिता रहन्छ । नेपालमा खेल्ने ८ देशमध्ये ४ देशको खेल काठमाडौंमा खेलाईने छ’ उहाँले भन्नुभयो, ‘बाँकी ४ देशको खेल काठमाडौं बाहिर खेलाउने तयारी क्यानले गरेको छ ।’

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राखेपको मातहातका मैदानमा प्रदेश सरकारले लगानी गर्न नमिल्ने बताउनुभयो । उहाँले कानूनी व्यवधानका कारण आफुहरुले लगानी गर्न नमिल्ने सुनाउनुभयो । ‘कानूनी समस्याले पोखरा रंगशालाभित्र लगानी गर्न सकिने अवस्था छैन्’ मुख्यमन्त्रीले भने, ‘कानून संशोधन गरेर मात्रै लगानी प्रदेश सरकारले गर्न सक्ने छ ।’

राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर प्रभात बरालले जेठ मसान्तमा निर्माण कम्पनीसँग सम्झौता स्विकृत भएको जानकारी दिनुभयो । उहाँले सम्झौता अनुसार ६ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।